• ३ जेठ २०८३, आइतबार

स्वास्थ्य शिविरमा ४६० जनाको स्वास्थ्य परीक्षण

blog

शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक ।तस्बिर : सिराज खान

 सिराज खान

नेपालगन्ज, जेठ ३ गते । नेपालगन्जमा शनिवार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा निशुल्क स्वास्थ्य परीक्षण, रगत जाँच, आँखा परीक्षण र औषधी वितरणसँगै रक्तदानमार्फत रगत सङ्कलन समेत गरिएको छ । 

लाइफ लाइन जनरल हस्पिटल प्रालि नेपालगन्ज र परिवर्तन समूहको संयुक्त आयोजनामा सर्खेतरोडस्थित गुरुद्वारामा सञ्चालन गरिएको सो निशुल्क स्वास्थ्य शिविरमा ४६० जना स्थानीय बासिन्दाको विशेषज्ञ चिकित्सकद्वारा निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी समेत वितरण गरिएको शिविरका संयोजक दन्त चिकित्सक डा। प्रतिक श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले शिविरमा २८५ जनाको रगत परीक्षण गरिनुका साथै ४५० जना बिरामीलाई औषधी वितरण गरिएको तथा सोही अवसरमा आयोजना गरिएको रक्तदानमार्फत ४२ जनाले रक्तदान गरेको बताउनुभयो । 

शिविरमा ८० जना बिरामीको आँखा समेत परीक्षण गरिएको थियो । शिविरमा भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। सङ्केत रिसाल, ईएनटी सर्जन डा। दिनेश चौधरी, नेपालगन्ज स्किन सेन्टरका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.अभिषेक अर्जेल, खजुरा क्यान्सर अस्पतालका मूत्ररोग विशेषज्ञ डा.प्रविन गुप्ता, फिजिसियन डा.त्रिस्टिन श्रेष्ठ, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मिर्गौला विशेषज्ञ डा.पारस श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ डा। राहुल मिश्र र फिजिसियन डा.पंकजसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । 

शिविरमा डा। विक्रम थापाको टोलीले आँखा जाँच गरेको र होलिस्टिक होम केअरको नर्सिङ टिमले नर्सिङ सेवा प्रदान गरेको शिविरका संयोजक दन्त चिकित्सक डा.श्रेष्ठले जनाउनुभयो ।

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मिर्गौला विशेषज्ञ डा। पारस श्रेष्ठले पछिल्लो समय कम उमेरमै मुटु, मिर्गौला लगायत दीर्घ रोगका बिरामी बढ्दै गइरहेकोले स्थानीयमा जनचेतना जगाउन पनि शिविर आयोजना गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो,“जनचेतनाको कमी तथा स्वास्थ्यप्रति बेवास्ताका कारण रोग जटिल बन्दै गएको पाइएको छ, समयमै रोग पहिचान र नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नै यो शिविर आयोजना गरिएको हो ।”

आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य पनि शिविरको रहेको आयोजकले जनाएको छ ।

सो अवसरमा शिविरसँगै रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । ४२ जनाले रक्तदानमा सहभागि भइ ४२ पिन्ट रगत सङ्कलन समेत भएको लुम्बिनी प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।

 जिल्लामा बेलाबेलामा देखिने रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले प्रादेशिक रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा शिविर स्थलमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

शिविरमा नेपाल चिकित्सक सङ्घ बाँके, नेपाल रेडक्रस सोसाइटी तथा नेपाल औषधी तथा बिक्री प्रतिनिधि सङ्घको समेत सहकार्य रहेको थियो ।