सिराज खान
नेपालगन्ज, जेठ ३ गते । बाँकेको जानकी गाउँपालिकामा आयोजित तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रमवापुर स्पोर्ट्स क्लबले जितेको छ ।
जानकी गाउँपालिका–३ स्थित कन्या माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा रमवापुरले मानपुर राइजिङ क्लबलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मानपुर राइजिङ क्लबले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको रमवापुर स्पोर्ट्स क्लबले पाँच विकेटकै क्षतिमा १०० रन बनाएर उपाधी जित्न सफल भएको हो ।
प्रतियोगिताको समापन समारोहमा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित सिल्ड प्रदान गर्नुभयो । सो अवसरमा प्रथम हुने टोलीलाई ५० हजार रुपियाँ र दोस्रो हुने टोलीलाई २५ हजार रुपियाँ नगदसहित अध्यक्ष खाँले सम्मान गर्नुभयो ।
सो अवसरमा बोल्दै अध्यक्ष खाँले नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरिरहेको सफलताले युवामा नयाँ ऊर्जा थपेको बताउनुभयो ।
उहाँले उपाधि जित्दै पालिकाको प्रतिष्ठा उचो बनाएको भन्दै रमवापुर स्पोर्ट्स क्लबका खेलाडीहरूको मेहनत, समर्पण र खेलप्रतिको लगावको प्रशंसा गर्नुभयो ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका १६ वटा क्रिकेट टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो ।