शेरबहादुर सार्की
बाजुरा, जेठ ३ गते । बाजुराको बडीमालिका मन्दिरमा पूजा गर्न जाने क्रममा एक जना तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत झण्डै ५६ वर्षका विश्वराज पन्थी रहेका छन् ।
उहाँ २०८३ जेठ २ गते बेलुकी ५ बजेको समय बडिमालिका मन्दिर दर्शनको लागि जाने क्रममा जिल्ला बाजुरा बडिमालिका नगरपालिका वडा–८ स्थित खारेको जङ्गलमा पुग्दा एक्कासी बेहोस हुनु भएको थियो ।
त्यसै क्रममा उहाँलाई उपचारको लागि झण्डै जिल्ला अस्पताल मार्तडी पुर्याइएकाे थियो । त्यहाँ पुग्दा उहाँलाई बेलुकी ५ बजेर ५० मिनेटमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेशबहादुर शाहीले, उहाँसँगै अन्य तीन जना पनि बडीमालिका मन्दिरमा पूजा गर्न जानु भएको बताउनुभयो । उहाँले भन्नुभयाे, “अर्घाखाँची छत्रदेव गाउँपालिका वडा–७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उपसचिव ३४ वर्षीया शिवहरी न्यौपाने, ओखलढुङ्गा लिखु गाउँपालिका वडा–९ घर भई ऐ. कार्यालयमा कार्यरत शाखा अधिकृत ३२ वर्षीया जीवन घिमिरे पर्वत मोदी गाउँपालिका वडा–५ घर भई ऐ. कार्यालयमा कार्यरत लेखापाल ३५ वर्षीया उमेश शर्मा समेत जानुभएको थियो ।”
तीन जना मध्ये दुई जना सकुशल रहेको र पन्थी एकासी बेहोस भएपछि प्रहरीको टोलीले उहाँलाई जिल्ला अस्पताल मार्तडीमा ल्याएर उपचार गराउँदा उहाँलाई मृत्यु घोषणा गरेको थियो । उहाँको पोष्मार्टमका लागि अहिले जिल्ला अस्पतालमा बाजुरामा राखेको सूचना अधिकारी शाहीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाजुराको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले, हामीले उहाँको आफन्तलाई खबर गरेका छाैं । उहाँका आफन्त पनि अहिले सुर्खेतबाछ बाजुरामा आउनका लागि हिँडिसकेको बताउनुभयो ।