• ३ जेठ २०८३, आइतबार

भत्काइयो अतिक्रमित टहरा

blog

अतिक्रमित टहरा भत्काइँदै ।

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), जेठ ३ गते । डिभिजन वन कार्यालय बर्दियाले वनक्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा भत्काएको छ । बिहीबारदेखि अतिक्रमित वनक्षेत्र खाली गराउन थालेको कार्यालयले शुक्रबार बारबर्दिया नगरपालिका–२ को लठुवाघाटमा मलामी ओत लाग्नका लागि निर्माण गरिएको टहरासमेत भत्काएको छ । 

वनजङ्गलको बिच भागमा निर्माण गरिएको हुनाले टहरा भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले डिभिजन वन कार्यालयसँग अनुमति नलिई रुखहरूको बिचमा टहरो निर्माण गरेको हुनाले भत्काइएको बताउनुभयो । 

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले भने मलामीलाई घामपानीबाट ओत लाग्नका लागि सामुदायिक वनको सहमतिमा टहरो बनाइएको बताउनुभयो । सामाजिक कामका लागि सार्वजनिक सम्पत्तिका रूपमा निर्माण गरिएका संरचना भत्काउन नहुने उहाँले बताउनुभयो । बारबर्दिया नगरपालिकाले गत वर्ष २२ लाख रुपियाँको लगानीमा तीन वटा टहरा निर्माण गरेको थियो । टहरा भत्काएपछि स्थानीय असन्तुष्ट बनेका छन् । स्थानीय सामुदायिक वन र वडावासीले माग गरेपछि बजेट विनियोजन गरेर टहरा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

बिहीबार स्वस्फूर्त रूपमा खाली भएको मधुवन नगरपालिका–४, माचढचोकमा समेत डिभिजन वन कार्यालयले डोजर चलाएको थियो । चोकमा रहेको पक्की संरचना र सामुदायिक भवन भत्काउन डोजर चलाइएको थियो । त्यसै गरी वनक्षेत्र अतिक्रमण गरेर बसेका मधुवन नगरपालिका–२, ओरालीबजार र कोठियाघाटको बस्ती एक साताभित्र आफैँ खाली गर्ने सहमति भएको छ । सहमतिपश्चात् शुक्रबारदेखि दुवै बस्ती स्थानीयवासीले खाली गर्न थालेका छन् । 

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सार्वजनिक र सामाजिक हितमा प्रयोग भएका संरचना भत्काउन नहुने बताउँदै अबदेखि यस्ता संरचना नभत्काउन निर्देशन गरेको बताउनुभयो । उहाँले भत्काउनुको कारण सोध्दा अख्तियारले भत्काउन आदेश दिएकाले भत्काइएको जानकारी आएको बताउनुभयो ।