धनगढी समाचारदाता
धनगढी, जेठ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई रोजगारीसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । धनगढीमा शनिबारदेखि सुरु भएको सुदूरपश्चिम कचहरीको उद्घाटन गर्दै उहाँले युवालाई रोजगारीसँग जोडेपछि मात्रै प्रदेशमा आर्थिक समृद्धि हुने बताउनुभयो ।
उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि जनताका आवश्यकता सम्बोधन हुने स्पष्ट र कार्यान्वयनयोग्य खाका निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहले प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायनलगायतका चुनौती रहेको उल्लेख गर्नुभयो । यस्ता चुनौतीका बाबजुद प्रदेश सरकारले सम्भावनाको खोजी गरिरहेको मुख्यमन्त्री शाहले बताउनुभयो ।
सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सञ्चालन भइरहेको कार्यक्रमले प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका विषयमा महत्वपूर्ण योगदान पु¥याउने जनाइएको छ । दुई दिनसम्म कचहरी आयोजना हुने छ ।
कचहरी उद्घाटन अवसरमा उपसभामुख कोइलीदेवी चौधरी, सामाजिक विकासमन्त्री मेघराज खड्का, नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावललगायतको उपस्थिति थियो ।