• ३ जेठ २०८३, आइतबार

इँटा उद्योगमा पुरिएर तीन मजदुरको मृत्यु

blog

तीन जना मजदुरको मृत्यु भएको इँटा भट्टा । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता 

सर्लाही, जेठ ३ गते । इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई नेपाली र एक भारतीय मजदुरको मृत्यु भएको हो । 

सर्लाहीको गोडैता नगरपालिका–७, रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारत लखेमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । सर्लाही इँटा व्यवसायी सङ्घका अध्यक्ष जगर्नाथ रायले सर्लाहीमा पहिलो पटक यस प्रकारको दुःखद घटना भएको बताउनुभयो । व्यवसायी वीरेन्द्र चौधरीले हरिपुर नगरपालिका–५, मजुर्वामा सञ्चालन गरेको कृष्ण इँटा उद्योगमा मजदुरको मृत्यु भएको हो ।  कौडेना गाउँपालिका निवासी चौधरीले मजुर्वामा लामो समयदेखि इँटा उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । 

यो वर्ष बारम्बारको बेमौसमी वर्षाले क्षति बेहोरिरहेका सर्लाहीका इँटा उद्योगीले पुनः अर्को ठुलो क्षति बेहोर्नु परेको छ । यो वर्ष अनेपक्षित रूपमा बेमौसमी वर्षा भएर काँचो इँटा नष्ट गर्दा करोडौँ क्षति बेहोरिरहेका व्यवसायीलाई यो घटनापछि झनै निराश बनाएको रायले बताउनुभो । घटनास्थलको प्रकृति हेर्दा चर्को घाम लाग्ने र बेलाबेलामा पानी पर्ने भइरहेकाले इँटा भट्टाभित्र अचानक ग्यास बनेर विस्फोट हुँदा थुपारिएको इँटाको चाङ लडेको इँटा व्यवसायी सङ्घका अध्यक्ष रायको भनाइ छ । 

उहाँले मृतकको परिवारलाई नियम अनुसार क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “मृतक मजदुरको परिवारलाई राज्यको नियम अनुसार क्षतिपूर्ति दिन र पीडित व्यवसायीलाई भरथेक गर्न समन्वय गरिरहेका छौँ ।” 

पोलेको इँटा धमाधम बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेको समय मजदुर भाग्न नपाएको हुन सक्ने अध्यक्ष रायको भनाइ छ । प्रहरी र इँटा व्यवसायी सङ्घले मृतकको शव परिवारलाई बुझाउन समन्वय गरिरहेका छन् । इँटा उद्योगी चौधरी भने घटनापछि सम्पर्कमा आउनुभएको छैन । 

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिव कटेलले इँटा व्यवसायी सङ्घमार्फत नै आफूहरूले पनि मृतकको परिवारसँग समन्वय गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएका दुई जनामध्ये एक जनाको जनकपुरमा उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भइसकेका छन् । तीन मजदुरको मृत्यु भएपछि उद्योगपरिसरमा सन्नाटा छाएको छ ।