काठमाडौँ, वैशाख १३ गते । सार्वजनिक स्थलमा धूमपान नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले नयाँ रणनीति अगाडि सारेको छ ।
काठमाडौँ, महानगरपालिकाले यसअघि पनि सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपियाँ जरिबाना गर्ने गरेको थियो । काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबिच भएको सहकार्य अन्तर्गत धूमपान नियन्त्रण गर्ने योजना अघि बढाइएको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गोलले धूमपान नियन्त्रणका लागि नेपाल प्रहरीसँग सहकार्य गरेर कानुन कार्यान्वयनलाई व्यावहारिक र प्रभावकारी बनाउने जानकारी दिनुभयो । डङ्गोलले धूमपान नियन्त्रणलाई केवल कारबाहीको विषयका रूपमा मात्र नभई जनस्वास्थ्यको मुद्दाका रूपमा लिनुपर्ने बताउनुभयो ।
कानुन अनुसार नेपालमा सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न मनाही गरिएको छ । सरकारले स्वास्थ्य, आर्थिक र सामाजिक हानि न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ लागु गरेको छ । उक्त ऐनमा सार्वजनिक स्थल, सवारीसाधन र कार्यस्थलमा धूमपान निषेध गरिएको छ । यसै गरी १८ वर्षमुनिकालाई धूमपान बिक्रीमा रोक लगाउने, सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक तस्बिर राख्नुपर्ने जस्ता कडा नियमको प्रावधान लागु गरेको छ । विद्यालय, स्वास्थ्य संस्था, बालगृह, होटेल, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधन, सिनेमा हल तथा विमानस्थल जस्ता सार्वजनिक स्थलमा धूमपान र सुर्ती सेवन पूर्ण रूपमा बन्देज गरिएको छ । यसै गरी बिक्री वितरणमा १८ वर्षमुनिका बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था छ । सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाउने व्यवस्था गरिएको छ । कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलमा धूमपान गरेमा सयदेखि पाँच सय रुपियाँसम्म जरिबानाको व्यवस्था गरिएको छ ।
गत भदौदेखि नै महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई जरिबाना तिराउने व्यवस्था लागु गरेको थियो । अनुगमनको अभाव, जनशक्ति कमी र निरन्तरता नहुँदा अभियान अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको थिएन ।
महानगरको स्वास्थ्य शाखाका प्रमुख दीपक केसीले कानुनमा धूमपान नियन्त्रण गर्ने भनेर मात्र नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिका लागेको जानकारी दिनुभयो । नीति र कानुन भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम आउन नसकेको उहाँको भनाइ छ ।
अब स्वयंसेवकमार्फत नियमित अनुगमन र समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्ने योजना बनाइएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा धूमपानका कारण हुने रोगबाट बर्सेनि ३९ हजार जनाको मृत्यु हुने गरेको छ । यस्ता रोगको उपचारमा मात्र राज्यले वार्षिक अर्बौं रुपियाँ खर्चनु परेको छ । कार्यवाहक मेयर डङ्गोलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण गर्नु भनेको केवल धूमपान गर्नेलाई मात्र लक्षित नभई त्यसले दोस्रो व्यक्तिमा पर्ने असर रोक्नु रहेको बताउनुभयो ।
कार्यवाहक मेयर डङ्गोलले महानगरले अबको अभियानलाई तीन मुख्य पक्षमा केन्द्रित गर्ने जानकारी दिनुभयो । नियमित अनुगमन, स्वयंसेवकमार्फत जनचेतना र कानुन उल्लङ्घनमा कडाइ गर्ने उहाँको भनाइ छ ।
डङ्गोलले दीर्घकालीन परिवर्तनका लागि धूमपान नियन्त्रण गर्नुपर्ने बताउनुभयो । अभियानले धूमपान नियन्त्रणसँगै युवालाई सामाजिक अभियानमा जोड्ने उहाँको भनाइ छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाहीले नेपालमा पछिल्लो समय युवावस्थामा धूमपान गर्नेको सङ्ख्या बढेको बताउनुभयो । “अहिले विद्यालयस्तरदेखि धूमपानको लतमा युवा मात्र नभएर बालबालिका पनि फसेको देखिन्छ,” डा. शाहीले भन्नुभयो, “बालबालिकामा धूमपान रोक्न जनचेतना बढाउन जरुरी छ ।” स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले धूमपानविरुद्धको अभियान नियन्त्रण गर्न धूमपानसम्बन्धी कानुनको कडाइ साथ पालना गर्नुपर्ने बताउनुभयो । कानुन पालना गर्न सके मात्र धूमपान घट्ने उहाँको भनाइ छ ।