• ३ जेठ २०८३, आइतबार

शीत भण्डार पाँच वर्षदेखि अलपत्र

blog

राजविराज नगरपालिका १५ मा निर्माणाधीन बरहेको शीत भण्डार खिया लागेको अवस्थामा । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), जेठ ३ गते । जिल्लाको राजविराज नगरपालिका १५ मा निर्माणाधीन रहेको शीत भण्डार ५ वर्षदेखि अलपत्र अवस्थामा भएपछि खिया लागेर बिग्रिने अवस्थामा पुगेको छ ।

ठेकेदार कम्पनीले शीत भण्डारको कामलाई अधुरो अवस्थामा छोडेको ५ वर्ष बितिसक्दा समेत काम पुनः सुरू हुनसकेको छैन । तीन हजार मेट्रिक टन क्षमता भएको निर्माणाधीन शीत भण्डारको फलाममा खिया लागेर बिग्रिने अवस्थामा पुगेको स्थानीयबासीहरूको भनाइ छ ।

तत्कालीन मधेस प्रदेश सरकारले आठवटै जिल्लामा एक-एक शीत भण्डार निर्माण गर्ने योजना अनुसार हनुमान नगर सडक खण्डसँग जोडिएको राजविराज नगरपालिका वडा १५ मा नगरपालिकाले एक बिगाह जग्गा उपलब्ध गराएर निर्माण गरेको शीत भण्डारको काम रोकिएर अधुरो भएपछि अहिलेसम्म सञ्चालन हुन नसकेको स्थानीय सरस्वती यादवले बताउनुभयो ।

२०७४-०७५ सालमा मधेस सरकारले गरेको टेण्डर अनुसार शीत भण्डार निर्माणका लागि पच्चीस करोड ४४ लाख ४३ हजार ९५९ रूपियाँमा शर्मा आशिष जेभी प्रालि.ले ठेक्का लिएको थियो । २०७५ साल पुस १९ गते सम्झौता भएको यो योजनाको २०७५ साल फागुन २ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्र प्रसाद साहले शिलान्यास गरेर निर्माण थालिएको थियो ।

शिलान्यासपछि यो योजनाको काम सुरू भएको थियो । कुल लागत मध्ये ६० प्रतिशत संघीय सरकार, २० प्रतिशत प्रदेश सरकार र २० प्रतिशत जिल्लाको सहकारी संघको समन्वयमा सहकारी संस्थाले दिने सहमति भएको थियो ।

२०७७ जेठ १८ गतेसम्म निर्माण सम्पन्न हुने भनिएपनि शीत भण्डारको अन्तिम म्याद सकिएको पाँच वर्ष भन्दा बढी भइसक्दा समेत पूरा हुन नसक्दा शीत भण्डारका फलामहरू खिया लागेर जीर्ण अवस्थामा पुगेको छ ।

अहिलेसम्म संघीय सरकारले ६० प्रतिशत रकम मध्ये ६ करोड ३६ लाख रूपियाँ रकम मात्र निकासा दिएको,प्रदेश सरकारले पनि आफ्नो भागको २० प्रतिशत रकम मध्ये एक करोड ४ लाख रूपियाँ भुक्तानी दिएको र स्थानीय सहकारी संघसंस्थाबाट २० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएपनि अधिकांश रकम आउन बाँकी रहेकोले बजेटको अभावमा शीत भण्डारको काम अधुरै रहेको निर्माण कम्पनीका प्रतिनिधि घनश्याम साहले जानकारी दिनुभयो  ।

उहाँले भन्नुभयो, अहिलेसम्म आठ करोडको काम भएको छ । भुक्तानी भने पौने चार करोडको मात्र भएको छ । काम गरेको रकम भुक्तानी दिएभने काम सुरू गर्छौं । रकम भुक्तानी समयमा भएको भए काम सम्पन्न भैसक्ने थियोे उहाँले बताउनुभयो ।

रकम अभावका कारण भुक्तानी हुन नसक्दा शीत भण्डारको काम सम्पन्न हुन नसकेको राजविराज नगरपालिकाका कार्यावाहक नगरप्रमुख इसरत परबिनले बताउनुभयो । उहाँले भन्नुभयो,झशुरूको वर्ष शीत भण्डारका लागि संघीय सरकारले कृषि मन्त्रालयबाट बजेट छुट्याएको थियोे । तर आ.व २०८१-०८२ र चालु आर्थिक वर्ष २०८२-०८३ मा भौतिक पूर्वाधार मन्त्रालय मार्फ वजेट छुट्टयाएपनि कृषि तर्फ रहेको शीत भण्डारका लागि भौतिक पूर्वाधार मन्त्रालयले छुट्टयाएको बजेट शीत भण्डार निर्माणको लागि प्रयोग गर्न नमिलेपछि शीत भण्डार निर्माणको काम पुरा हुन नसकेको हो ।

जिल्लामा शीत भण्डार नभएपछि यस क्षेत्रका किसानले उत्पादन गरेको सामाग्री भण्डारण गर्न समस्या हुँदै आएको स्थानीय बौबालाल यादवले बताउनुभयो ।