अहिले संसार नै डिजिटल युगमा पौडिरहेको छ । मार्सल म्याक्लुहानले सन् १९६० कै दशकमा ‘विश्वलाई एकै गाउँ हुन्छ’ भन्दा इन्टरनेटको उद्भव नै भएको थिएन ।
इन्टरनेटको अन्वेषणले मूर्त रूप लिएसँगै सूचना प्रविधिको विकासले संसारलाई तीनचार दशकयता एउटा गाउँ बनाउँदै छ । पत्रकारिताको मूल मार्ग डिजिटल आयाम बनिरहेको छ । तर पत्रकारिताको आधुनिक स्वरूपका पछाडि लामो इतिहास छ ।
इतिहास अलि पर पुग्दा रोमन सम्राट् जुलियस सिजरले इसापूर्व ५९ मै ‘एक्टा डिउर्ना’ अर्थात् कपडाको तुलका माध्यमबाट सूचना सामग्री प्रकाशनमा ल्याएर राज्यले नागरिकलाई सूचना सार्वजनिक गर्नु पर्छ भन्ने मान्यता आरम्भ गरे । त्यो प्रयास पत्रकारिताको श्रीगणेश नै थियो ।
प्रगति कहिल्यै रोकिन्न । तथापि जर्मन अन्वेषक जोहनेस गुटन वर्गले सन् १४४० मा छाप्ने मेसिनको आविष्कार गर्दासम्म छापाको विकासमा तीव्रता आउन सकेको थिएन । तर छापाको विकासपछि पुस्तक अनि छापा पत्रकारिता मुद्रणले उद्योगको आकार ग्रहण गर्दै गयो । सन् १६०५ मा जर्मनमा पहिलो अखबार ‘रेलेसन’ छापियो । सन् १७०२ मा बेलायतमा ‘डेली कोरान्ट’ छापिन थालेसँगै अखबारी पत्रकारिता व्यापक विस्तार भए पनि दक्षिण एसियामा अखबार प्रकाशन हुन लामै समय कुर्नु परेको देखिन्छ । सन् १७८० मा कोलकताबाट ‘बङ्गाल गजेट’ प्रकाशन भयो । त्यसको सय वर्षपछि (सन् १९०१ मे ६) मात्र बल्ल काठमाडौँमा पहिलो अखबार गोरखापत्र (प्रकाशन हुँदा गोर्खापत्र) छापिएर नेपालमा अखबारी पत्रकारिताको नवीन इतिहास प्रादुर्भाव भयो ।
विसं १९५८ ज्येष्ठवदी दुई तिथिमा आरम्भ भएको गोरखापत्र यही वैशाख २४ बाट १२६ औँ वर्षमा प्रवेश गरेको छ । पहिलो अङ्कका विषयवस्तुमा अन्वेषकहरूको ध्यान जानुपर्ने आवश्यक देखिन्छ । पहिलो अङ्कमा ‘एडिटर्को राय’ लेखिएको छ । यसलाई आजको भाषामा सम्पादकीय पनि भन्न सकिन्छ । अखबारमा सम्पादकीय लेख्ने परम्परा डेनियल डेफोले त्यसअघि नै आरम्भ गरेको विषयवस्तु त कति जानकारी थियो ? त्यस बेला तर एडिटरको रायका विषयवस्तु अत्यन्तै गहन छन् । सम्पादकीयलाई अखबारको संस्थागत बोली, अडान र दृष्टिकोण पनि भनिन्छ । त्यस एडिटरको रायमा देशलाई आर्थिक उन्नतिमा लैजाने व्यापक तृष्णा र लक्ष्य देखिन्छ । पहिलो पृष्ठको मुख्य समाचार राखिने छेउतिर अखबारको एकतिहाइ स्थान, माथिदेखि तलैसम्म दिएर ‘एडिटर्को राय’ शीर्षकसँगै विषयवस्तु आरम्भ नै यसरी गरिएको छ–
मुलुकमा धन् र सुख इलमबाट हुने हुनाले र अज्ञान् जस्तो दुख अरु केही नहुनाले मुलुकको बढ्ति हवस अज्ञानको को दुख मेरा दुनिञा मा नरहोस् .......
धन र सुखबाट लेखनी सुरु भएको छ । समकालीन पत्रकारितामा अनेक विधा विकास भएका छन् । त्यसमा वित्तीय पत्रकारिताको विशिष्ट स्थान छ । कतिपयले यसलाई आर्थिक पत्रकारिता पनि भन्छन् । विश्वका ठुला अखबारको समकालीन मुख्य विषयवस्तु नै आर्थिक नीतिलाई प्रवर्धन गर्ने गरी तय गरिएका हुन्छन् । सम्पन्न मुलुकका पत्रकारिताका विषयवस्तु आर्थिक उन्नतिमा केन्द्रित हुने गरेका छन् । लगानी प्रवर्धनबाट उद्यम विस्तार हुन्छ । उद्यमबाटै रोजगारी विस्तार हुन्छ । रोजगारी विस्तारसँगै आय र उत्पादन बढ्छ । नेपालमा पनि यताका दशकमा आर्थिक पत्रकारिताको विस्तार व्यापक नै हुँदै गएको छ तर गोरखापत्रले पहिलो अङ्कबाट यो सुरुवात राम्ररी गरेको पाइन्छ ।
आर्थिक तथा वित्तीय पत्रकारिताको आरम्भ गोरखापत्रले पहिलो अङ्कबाटै थालनी गरेको थियो भन्न मिल्ने विषयवस्तु स्पष्ट देखिन्छ । पहिलो अङ्कको ‘एडिटर्को राय’ नै आर्थिक पत्रकारिताको सारबाट सुरु भएको देखिन्छ । आठ पृष्ठका पत्रिकाभरि आर्थिक विकासका निम्ति अनेक हुटहुटी पाइन्छ । सम्पादकीय भन्न सकिने एडिटरको रायको आरम्भ नै धन, इलम र सुख जस्ता शब्दबाट आरम्भ हुन्छ । ज्ञान नहुनु नै दुःखको कारण हो भनिएको छ । भनिन्छ, अखबारले सूचना र ज्ञानको प्रसार गर्छ । महाराज देव शमशेरले अज्ञान हटाई इलमका निम्ति ज्ञान प्रसार गर्न गोरखापत्र प्रकाशन थालनी गरेको सारलाई ‘एडिटर्को राय’ ले गहन उद्घोष गरेको बुझ्न सकिन्छ ।
गोरखापत्रको प्रकाशन दुनियाँको फाइदाको निम्ति भनिएको छ । इलमी हुन ज्ञान हुनुपर्ने र ज्ञान तथा सूचना विस्तार गर्न छापा पत्रकारिताको विकास अपरिहार्य देखिएको स्पष्ट पार्न खोजिएको छ । नेपाली रैती दुनियाँ छापाको माध्यमबाट अरूबाट ज्ञान सिकेर इलमी हुन सकून् भन्ने ध्येय स्पष्ट देखिन्छ । यति मात्र होइन, अखबारको विकास भएका मुलुक इलमी हुन सकेको र तिनै मुलुक धनी बनेको विषयवस्तुलाई सरल तरिकाले बुझाउन खोजिएको छ । एडिटरको राय पहिलो पृष्ठबाट सुरु भई दोस्रो पृष्ठभरि तीन कालमा विस्तार गरिएको छ । त्यसमा अगाडि भनिएको छ :
जुन देशमा अखबार बढ्दै गएको छ, ती ती देशमा रोज रोज उन्नति पनि बढ्दै गएको देखिन्छ ..... (पृष्ठ २, एडिटर्को राय)
अखबारको विस्तार भएको मुलुक नै विकसित हुँदै गएको अनुभव नेपाली पाठकलाई दिएको छ । हुन पनि औद्योगिक क्रान्तिले युरोप र अमेरिकाको विकास तीव्र युगमा प्रवेश गरिसकेका थिए । विश्वभर छापा अखबारको सङ्ख्या नै उल्लेख गरिएको छ । धनी मुलुकमा धेरै अखबार प्रकाशित भएको देखाएर शिक्षा र चेतनालाई आर्थिक विकाससँग जोड्ने प्रयास गरिएको छ । त्यसमा ज्ञानको शक्ति जोड्दै थपिएको छ :
...मनुष्यमा शब्द (खबर) ज्ञानको शक्ति ज्यादा दिनाले अरु प्राणीभन्दा मनुष्य को ठुलो उन्नति र बडापन (श्रेष्ठता) देखिएको छ, इलम पनि कोइ इलमिले त्यस इलममा केही खबर लेखिदियाको छ भने तेस्को उन्नति भयाको ...
ज्ञान नै शक्ति हो भन्ने सारलाई सविस्तार गरिएको छ । ज्ञानकै शक्तिले अरू प्राणीभन्दा बढी मानिसको उन्नति भएको छ । त्यसबाट श्रेष्ठता बढेको छ । त्यो श्रेष्ठता भने इलमबाट प्राप्त हुने गहन ध्येय राखिएको छ । शिक्षा र चेतना अभावको त्यो अन्धकार युगमा देशलाई समृद्धिको तृष्णालाई सहज बुझ्न सकिन्छ । गोरखापत्र प्रकाशनका निमित मानवतावादी दर्शनका प्रयोक्ता जयपृथ्वीबहादुर सिंहको लक्ष्यसमेत देखिन्छ । गोरखापत्रका व्यवस्थापक जयपृथ्वीबहादुर भए पनि सनदबाट नरदेव पाण्डेलाई गोरखापत्रको जिम्मेवारी दिइएको थियो । एडिटरको रायको भाषा र शैली हेर्दा नरदेव पाण्डेको भाषा शैली हो कि भन्न सकिन्छ । सेनाका वरिष्ठ अधिकृत डिल्लीजङ्ग थापालाई देखाएर मात्र छाप्नुपर्ने सनदको व्यवस्थाबमोजिम देव शमशेरकै इच्छा अनुरूप एडिटरको राय थियो भन्ने निष्कर्ष पनि निकाल्न सकिन्छ ।
पृष्ठ दुईमै निरन्तरतामा गोरखापत्र प्रकाशनबाट के कस्तो फाइदा हुन्छ भन्ने पनि बुँदागत रूपमा देखाइएको छ । नम्बर नै दिएर बुँदागत दिएको त्यस्तो फाइदाको दोस्रोमा आर्थिक उन्नतिलाई नै बढी जोड दिई फाइदा जनाइएको छ । त्यस दोस्रो बुँदामा भनिएको छ–
अखबार बराबर हेरनाले, दुनियाँ भरको खबर जानि ठुला ठुला मुलुक् मा यस् यस् किसिमले देशको उन्नति गरेको रहेछ, यस्तो सभ्यता रहेछ भनि जान्नाले बुद्धि मान भयका दुनियाँले आफ्नो चालचलन्, व्यवहार, धर्म, कर्म, खेति पाति, इलम इत्यादि संपूर्ण विषय मा उन्नति गरेको देखि दुनियाँमा..
अखबारबाट ज्ञानको प्रसारलाई बढी जोड त दिइएकै छ, त्यसमा पनि देशवासी र देशको उन्नतिका तृष्णामै बढी केन्द्रित गरिएको छ । सभ्यता बुझ्न सकिने भनिएको छ । चालचलन जान्नु भनेको असल अभ्यासको अनुसरण पनि गर्नु हो । धर्मकर्मसँगै खेतीपातीका कुरा जान्नुपर्नेमा जोड दिएको छ । गोरखापत्रका पछिल्लो अङ्कमा पनि खेतीपाती गर्ने ज्ञान र सिप सिकाइएको छ । इलम अर्थात् उद्यम सिक्नुपर्ने कुरामा त झनै फाइदा हुने भनिएको छ । यी सबै कार्यबाट देश दुनियाँको उन्नति हुन सक्ने भन्दै गोरखापत्र प्रकाशनको औचित्य पुष्टि गर्ने अब्बल प्रयास गरिएको छ । गोरखापत्र प्रकाशनको भाइभारदारबाटै विरोध भइरहेको कुरा त देव शमशेर गोरखापत्र प्रकाशनको ११४ दिनमै भाइ चन्द्र शमशेरबाट अपदस्त गरी धनकुटा पठाइएकोबाट इतिहास साक्षी छ ।
आज पत्रकारिताले बजार अर्थतन्त्र, यसका नीति, कार्यक्रम र योजनालाई मिडिया सामग्रीको केन्द्रविन्दुमा राखिने गरिन्छ । गोरखापत्र प्रकाशनको फाइदाको सातौँ बुँदामा आर्थिक पत्रकारिताको विषयलाई राम्ररी प्रकाश पार्ने प्रयास गरिएको छ । त्यस बुँदामा यस्तो भनिएको रहेछ–
देश दशावरको र गोर्खा राज्यभरका ठाउँ ठाउँको सुना, चाँदी, लत्ताकपडा, अनाज, कसन, तामा इत्यादि सारा चिजबिज को दरभाउ येसमा बराबार छापिने हुनाले महाजनहरू लाई पनि ठुलो फाइदाछ ।
कलकत्ता र काठमाडौँको दरभाउ छाप्ने कुरा त सनदमै दिइएको थियो । अखबारमा के छाप्ने ? के नछाप्ने भन्ने विषयमा हाम्रा तारिफका कुरा नछाप्नू भन्ने सन्देशले स्वतन्त्र पत्रकारिताको कतिपय मर्म त पाइन्छ नै, साथसाथै कालकता र काठमाडौँको दरभाउ छापेर बजार पारदर्शिता दिन खोजिएको छ । अहिले भन्सारविन्दुमा आयातित वस्तुको अधिकतम बजार मूल्य राख्ने व्यवस्था गर्दा व्यापारिक जगत् अत्तालिएको छ । तर गोरखापत्रको पहिलो अङ्कमै कलकत्ता र काठमाडौँका दरभाउ दिइएको छ । हाल कोलकाता भनिने तत्कालीन कलकत्ता भारतको राजधानी (पछि सन् २०११ मा मात्र भारतको राजधानी दिल्ली सरेको हो) मात्र नभई तेस्रो विश्व बजारलाई जोड्ने बन्दरगाह बजार पनि थियो । नेपाल बाह्य व्यापारको केन्द्र पनि थियो ।
गोरखापत्रको पहिलो अङ्कमा अर्थ भन्ने शीर्षकका उद्यमप्रति समाचार जस्तै सामग्री छापिएको छ । त्यस सामग्री आरम्भ गरिएको छ–
उद्योगी पुरुषलाई लक्ष्मी प्राप्त हुन्छ....
यसमा उद्यम गर्नु नै जीवनको सार्थकता हो भन्ने सन्देश छ । उद्यम नगर्ने तर भाग्यमा मात्र विश्वास गर्नेले कहिल्यै उन्नति गर्न सक्दैन भनिएको छ । उद्यम के कसरी गर्ने भन्दै सामग्रीको अलिपछि लेखिएको छ–
उद्योगी मुनष्यलाई केही वस्तु कहिले पनि बेकामको हुँदैन, उद्योगी मनुष्यहरू ढुङ्गा, माटो, झुत्रो कपडा, रुखका बोक्रा, सिग हाड ताँबो फलो पित्तल अरु साना मोलका धातुहरू को आफ्ना परिश्रमले सुन्दर वस्तु बनाइ ठुलो मोल जाने पारी सबैलाई चाह गराय धन कमाउँछन् .....
लेटर प्रेसमा अक्षर जोडेर लेख्नुपर्ने, दक्ष जनशक्तिको अभाव आदिले भाषिक शुद्धतामा समस्या भए पनि सामग्रीको अर्थ गहन निकाल्न सकिने देखिन्छ । उद्यम गर्न हाम्रा वरिपरिका कच्चा पदार्थबाट औद्योगिक उत्पादन गरी बजारमा उच्च मूल्यमा बेच्न सकिने भनिएको छ । जो उद्यमी हुन्छ, उही अवश्य ठुलो हुन्छ भन्ने गहन सन्देश छ । उद्यम नगर्ने पुरुषका जहान बच्चाले पनि दुःख पाउँछन् भनिएको छ । वास्तवमा विसं १९५८ वैशाख २४ गते प्रकाशित गोरखापत्रको पहिलो अङ्कमा नै अर्थ, उद्यम र इलमका विषयमा महìवपूर्ण जानकारीहरू आज पनि गहन अध्ययन, अन्वेषणका विषय हुन् । पत्रकारिताका प्राज्ञिक अध्येताले यस्ता विषयमा थप अध्ययन गर्नु आवश्यक देखिन्छ ।