• ३१ जेठ २०८२, शनिबार

अपाङ्गताका क्षेत्रमा उच्च शिक्षा

blog

विद्यालय तहपछि विशेष गरी कलेज, विश्वविद्यालय, तथा अन्य उच्च शैक्षिक संस्थाबाट लिने र दिने शिक्षालाई उच्च शिक्षा भनिन्छ । यस तहको शिक्षामा खास विषयमा विशिष्ट अध्ययन गरी व्यावसायिक ज्ञान सिप हासिल गरिन्छ । उच्च शिक्षा प्राप्त गर्ने जनशक्तिले खोज अनुसन्धान गर्दै विश्लेषणसहित समस्या समाधान गर्न सक्ने सैद्धान्तिक र व्यावसायिक क्षमता विकास गरेका हुन्छन् । यस प्रकारका जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हैसियत राख्न सक्छन् । उच्च शिक्षा भनेको व्यक्तित्व विकास गर्ने साधन र साध्य पनि हो । नेपालमा उच्च शिक्षा विभिन्न क्याम्पस र विश्वविद्यालयमा साधारण तथा प्राविधिक दुवै धारमा स्नातक, अधिस्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा प्रदान गरिन्छ । 

अपाङ्गता भएका व्यक्तिका लागि उच्च शिक्षा 

शरीरका अङ्ग र शारीरिक स्वरूपमा हुने अवस्था, मानसिक बौद्धिक प्रणालीमा भएका समस्याका कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणमा साथै सञ्चारसमेतमा अवरोध सिर्जना हुँदा दैनिक क्रियाकलाप सामान्य रूपमा सञ्चालन गर्न र सामाजिक जीवनमा पूर्ण रूपले सहभागी हुन कठिनाइ हुने अवस्था नै अपाङ्गता हो । अपाङ्गतालाई नेपाल सरकारले र अपाङ्गता भएका व्यक्तिका विभिन्न सङ्घ संस्थाले १० प्रकारका हुने भनी स्वीकार गरेका छन् जस्तै : १. शारीरिक अपाङ्गता २. दृष्टिसम्बन्धी अपाङ्गता ३. सुनाइसम्बन्धी अपाङ्गता ४. श्रवण दृष्टिविहीन अपाङ्गता ५. स्वर र बोलाइसम्बन्धी अपाङ्गता ६. मानसिक वा मनोसामाजिक अपाङ्गता ७. बौद्धिक अपाङ्गता ८. आनुवंशिक रक्तश्राव हेमोफिलियासम्बन्धी अपाङ्गता ९. अटिजम १०. बहुअपाङ्गता ।

१० प्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये शारीरिक, दृष्टिसम्बन्धी र सुनाइसम्बन्धी अपाङ्गता भएका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि सक्षमता राख्न सक्छन् । यी तीन प्रकारका अपाङ्गता भएका विद्यार्थीलाई पाठ्यक्रम र पाठ्य सामग्रीहरू, शैक्षिक वातावरण, शिक्षण विधि र मूल्याङ्कन जस्ता विषयवस्तुको अनुकूलन गरेर अवसर प्रदान गर्दा उनीहरूबाट विभिन्न शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ । दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई फरक लेख्य भाषा (ब्रेल) र सुनाइसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सुनाइ बोलाइको सट्टा फरक दृश्य भाषा (साङ्केतिक भाषा) को प्रयोग गरेर सिकाइ र अभिव्यक्तिको वातावरण दिनु पर्छ भने शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई कक्षा कोठाभित्र जान र बस्नका लागि अपाङ्गतामैत्री भौतिक संरचना, आवश्यक परेका बेला लेखन सहयोगी र आवागमनमा सहजता हुने साधनको व्यवस्था गरेर सिकाइ वातावरण दिन सकेमा उच्च शिक्षासम्म नै पहुँच राख्न सक्छन् ।

नेपालमा दृष्टिविहीन व्यक्तिका लागि सचेत तरिकाले सङ्गठित संस्था नेपाल एसोसिएसन अफ द ब्लाइन्ड (एनएबी) विसं २०२१ मा स्थापना भएपछि उनीहरूलाई विद्यालय शिक्षाको सम्बन्धमा पहल सुरु भएको पाइन्छ । साक्षरता हासिल गरेका दृष्टिविहीन विद्यार्थीको तीक्ष्ण बौद्धिकता र उत्कृष्ट सिकाइ क्षमताको पहिचान गर्दै उच्च शिक्षामा स्थान दिनु पर्छ भन्ने मान्यता राख्दै त्रिभुवन विश्वविद्यालयले २०३० को दशकदेखि भर्ना गरेर सकारात्मक तथा मैत्री वातावरणमा अनुकूलता प्रदान गर्दै आएको छ । हाल दृष्टिविहीन विद्यार्थीका लागि उच्च शिक्षामा पहुँच पु¥याउन निम्न अनुसार प्रविधिको प्रयोग गरिएको छ । 

सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा तथा सुस्त श्रवण विद्यार्थीलाई विसं २०५६/०५७ देखि त्रिवि अन्तर्गत संस्थाग रूपमा नै विशेष गरी प्रविणता प्रमाणपत्र तहमा भर्ना गर्न थालिएको थियो । महेन्द्र रत्न क्याम्पस ताहाचल, काठमाडौँमा भर्ना भएका बहिरा तथा सुस्त श्रवण विद्यार्थीका निम्ति कक्षा शिक्षणका बेला एक जना दोभाषे राख्ने नीतिगत निर्णय गरेर त्रिविले कक्षा शिक्षणमैत्री वातावरणको प्रयास गरेको थियो तर त्यहाँ अपेक्षा अनुसार व्यावहारिक रूपमा मैत्री वातावरण बन्न सकेन । एक जना दोभाषे व्यक्तिमा क्याम्पसमा पढाइ हुने विभिन्न विषयको विषयगत ज्ञान र अनुभव पर्याप्त हुन नसक्ने अवस्था, लगातार दोभाषे गरिरहनु पर्दा हुने थकान इत्यादिका कारण व्यावहारिक रूपमा एक जना दोभाषेबाट विद्यार्थीहरूले शैक्षणिक लाभ लिन सकेनन् । 

शिक्षक, प्राध्यापक र क्याम्पस हातादेखि कक्षाकोठासम्म साङ्केतिक भाषामा बहिरा मैत्री वातावरण पाउन नसक्दा बहिरा विद्यार्थी भर्ना भएर पनि निराश हुँदै बिचैमा छोड्नुपर्ने बाध्यकारी असहज अवस्था पैदा भएको थियो । अहिले पनि त्रिविमा यही दसा विद्यमान छ । सुस्तश्रवण विद्यार्थीका लागि मैत्री सिकाइ वातावरणका लागि श्रवण यन्त्र, डिजिटल बोर्ड, क्याप्सनसमेतको दृश्यात्मक सामग्रीका साथमा हुने शिक्षण सिकाइ प्रभावकारी हुन्छ । 

सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीलाई नै लक्षित गरी त्रिभुवन विश्वविद्यालयले २०६९ सालमा सम्बन्धन दिएको केन्द्रीय बहिरा क्याम्पस नेपालकै एक मात्र बहिरा विशेष क्याम्पस हो, जहाँ विषय शिक्षकहरूले नै साङ्केतिक भाषामा बहिरा शिक्षणका विधि अपनाएर अध्यापन गर्छन् । सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीमा सिकाइ ग्रहणशीलतामा सुनाइको माध्यम अनुपयुक्त हुने भएकाले साङ्केतिक भाषा नै उनीहरूका लागि अकाट्य भाषा हो तर साङ्केतिक भाषाको अपर्याप्त शब्द भण्डारका कारण विषयवस्तुको बुझाइमा रिक्तता हुन्छ । बहिरा विद्यार्थीले जाने बुझेका र अनुभव गरेका कुरा अभिव्यक्त गर्न शब्द सङ्केत पर्याप्त नहुँदा उनीहरूको बुझाइ क्षमतामा प्रश्न पनि उठ्ने गर्छन् । यसतर्फ हालसम्म पनि नेपाल सरकार र विश्वविद्यालयहरूले रुचिपूर्वक ध्यान दिन सकेका छैनन् । 

बहिरा विद्यार्थीको प्राथमिक र सिकाइको माध्यम भाषा मानिएको साङ्केतिक भाषाको अनुसन्धान, विकास, निर्माण गर्ने आधिकारिक संस्था राष्ट्रिय बहिरा महासङ्घ नेपाल भएकाले उक्त संस्थासँग केन्द्रीय बहिरा क्याम्पस र यस्तै सरोकारवाला संस्थाहरू (भाषा आयोग, नेपाल प्रज्ञा–प्रतिष्ठान, त्रिवि केन्द्रीय भाषा विभाग, नेपाल सरकारको सम्बन्धित निकाय) को सहकार्यमा काम अघि बढ्नु सान्दर्भिक तथा अनिवार्य हुन्छ । हालसम्म करिब सात हजार साङ्केतिक शब्द छन् । ती साङ्केतिक शब्दमध्ये उच्च शिक्षाका क्षेत्रमा उपयोग हुने शब्द ज्यादै न्यून छन् । उच्च शिक्षाको अध्ययन अध्यापनमा विषयगत शब्द सङ्केतको अभावका कारण जटिलता भएको गुनासो शिक्षक विध्यार्थीको रहँदै आए पनि कतैबाट सकारात्मक सुनाइ हुने गरेको छैन । हालसम्म जति शब्द साङ्केतीकरण भएका छन् ती पनि विदेशी गैरसरकारी संस्थाको आर्थिक सहयोगमा भएको देख्दा यस क्षेत्रमा सरकारी संयन्त्रले आँखा चिम्लिएका हुन् कि भन्ने आरोप लाग्ने गर्छ । 

शारीरिक अपाङ्गता भएका विद्यार्थीको शिक्षा आर्जन गर्ने सबै अङ्ग दुरुस्त देखिने भएकाले भाषिक तथा सुनाइ र लिखित अभिव्यक्तिमा जटिलता हुँदैनन् भन्ने सामान्य बुझाइ हुन्छ । मूल्याङ्कनका बेला लेखाइ अभिव्यक्तिमा हातको समस्या हुने विद्यार्थीलाई सहजकर्ता र समय थपको व्यवस्था गरिँदै आएकाले अन्य अपाङ्गता भएका व्यक्तिको तुलनामा सहज जस्तै लाग्छ तर शारीरिक अपाङ्गताका विविधताभित्र फरक फरक प्रकृतिका असहज अवस्था रहन्छन् जस्तै : आवागमनका लागि बाटोघाटो, कक्षा कोठाभित्रको अपाङ्गता मैत्री व्यावस्थापन, अपाङ्गता मैत्री शौचालय, प्रशासनिक कक्ष इत्यादि स्थानमा पुग्न 

कठिनाइ हुने र सहशिक्षार्थी समूहमा मैत्री भावको अभाव हुँदा झेल्नुपर्ने शारीरिक मानसिक पीडा सहज रूपमा शिक्षा आर्जन गर्न बाधक हुने गर्छन् । नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रले शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि उच्च शिक्षामा पहुँच पु¥याउन सम्बन्धित निकायमा आवाज बुलन्द गर्दै आएको छ । हाल शारीरिक अपाङ्गता भएका महिला विद्यार्थीका लागि काठमाडौँ, डिल्लीबजारस्थित पद्मकन्या क्याम्पसले होस्टेल कोटाको व्यवस्था गरेर उच्च शिक्षामा सहयोग पु¥याउँदै आएको छ ।

विभिन्न प्रकारका अपाङ्गता भएका छात्रछात्राका लागि मैत्री वातावरणको अभाव, नीति निर्माताको अज्ञानता वा अनभिज्ञता, अदूरदर्शिता र कामचलाउ मानसिकताका कारण बेलैमा हुन सक्ने अपाङ्गता मैत्री उच्च शिक्षाको नीति नियमका साथ अध्ययन अध्यापनमैत्री वातावरण बन्न ढिलाइ भइरहेको छ । यस्ता सबै प्रतिकूल परिस्थितिलाई तालमेल मिलाएर जानका लागि समावेशी शिक्षालाई विकल्पका रूपमा देखाउने गरिन्छ । समावेशी शिक्षाको पूर्वाधार (समावेशिताको मर्म अनुरूप कानुनी व्यवस्था, सैद्धान्तिक र व्यावहारिक रूपमा पाठ्यक्रम अनुकूलन, विद्यालयका भौतिक पूर्वाधारमा अपाङ्गतामैत्री संरचना, कक्षा कोठामा मैत्री वातावरण, शिक्षकको सक्षमता, समावेशी शिक्षण विधि र शैक्षिक सामग्रीको व्यवस्था, भाषिक सहजकर्ताको व्यवस्था, समावेशिताका लागि सुयोग्य व्यवस्थापन, विद्यार्थी सहपाठीबिचमा सामाजिक चेतना, समावेशी चरित्र र सहयोगी भावना इत्यादि) मिलेको अवस्थामा मात्र सम्भावना रहन्छ ।

त्रिभुवन विश्वविद्यालयले अपाङ्गता भएका विद्यार्थीका लागि विभिन्न शैक्षिक र प्रशासनिक व्यवस्था लागु गरेको छ, जसले उनीहरूको उच्च शिक्षा प्राप्तिमा सहजता र पहुँच सुनिश्चित गर्न मद्दत पु¥याएको छ । विश्वविद्यालय स्तरमा भएका प्रयास–

त्रिविले व्यवस्था गरेको निःशुल्क व्यवस्था र सहयोग : त्रिभुवन विश्वविद्यालयमा अपाङ्गता भएका विद्यार्थीलाई क्याम्पसमा भर्ना र अध्ययन शुल्क मिनाहा गरिएको छ । परीक्षा, रजिस्ट्रेसनलगायत सबै प्रकारका प्रमाणपत्रका लागि पनि शुल्क मिनाहा गरिएको छ । यो व्यवस्था त्रिविका ६४ वटा आङ्गिक र १,०५३ सम्बन्धन प्राप्त क्याम्पसमा लागु हुने गरी निर्णय भएको छ । परीक्षाका बेला अपाङ्गता भएका विद्यार्थीका लागि समय थप्न पाउने व्यवस्था पनि त्रिविले गरेको छ । त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले अपाङ्गता भएका विधयार्थीलाई खेलकुद क्षेत्रमा प्रोत्साहनको कार्यक्रम ल्याएको छ । 

विशेष आवश्यकता शिक्षा कार्यक्रम : त्रिविको केन्द्रीय विभाग, विशेष आवश्यकता शिक्षा विभागले बिएड र एमएड स्तरमा विशेष आवश्यकता शिक्षासम्बन्धी पाठ्यक्रम सञ्चालन गर्छ । यसले अपाङ्गता भएका विद्यार्थीका लागि शिक्षक प्रशिक्षण र समावेशी शिक्षा प्रवर्धनमा मद्दत पु¥याउँछ । अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्मार्ट कक्षाको व्यवस्था र आइसिटीमा आधारित प्रशिक्षणको व्यवस्था पनि यसमा गरिएको छ । यस कार्यक्रमा अपाङ्गता भएका विद्यार्थीले पनि लाभ लिएका छन् । यहाँबाट उत्पादित जनशक्तिले अपाङ्गता भएका विद्यार्थीको उच्च शिक्षामा ऊर्जाशील योगदान दिन सक्छन् । 

विश्वविद्यालय अनुदान आयोगले गरेको व्यवस्था : विश्वविद्यालय अनुदान आयोगले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति र विभिन्न अनुसन्धानमूलक अध्ययन कार्यमा कोटासहित प्रोत्साहन कार्यक्रमको व्यवस्था गरेको छ । काठमाडौँस्थित केन्द्रीय बहिरा क्याम्पस सञ्चालनार्थ अनुदानको व्यवस्था गरेर नेपालभरिका बहिरा विद्यार्थीलाई स्नातक तहको अध्ययन गर्ने अवसर प्रदान गरेको छ । शिक्षा र अनुसन्धान कार्यमा काठमाडौँ विश्वविद्यालयले केही वर्षयता अपाङ्गता भएका विद्यार्थीका लागि विशेष कार्यक्रम सञ्चालन गर्न थालेको छ । 

नेपाल सरकारले गरेको छात्रवृत्तिको व्यवस्था : स्थानीय तथा प्रदेश सकारले पनि उच्च शिक्षका लागि आवश्यक मापदण्ड पुगेका अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । 

कानुनी व्यवस्था : सर्वोच्च अदालतले अपाङ्गता भएका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिन विभिन्न आदेश जारी गरेको अवस्थामा त्यो कार्यान्वयन हुँदै आएको छ । त्यस कारण उच्च शिक्षा प्रदान गर्ने कुनै पनि शैक्षिक संस्थाले अपाङ्गता भएका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिन पाउँदैनन् ।