• १ असार २०८२, आइतबार

गण्डकी प्रदेशस्तरीय क्रिकेटमा तनहुँ र स्याङ्जा विजयी

blog

माधवप्रसाद बराल

कास्की, जेठ ३१ गते। गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि पोखरामा सुुरु भएको छ।पोखरा रङ्गशालाको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ।म्याग्दी विरुद्धको खेलमा जितका लागि ८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो।टस जितेर पहिले ब्याटिङ गरेको म्याग्दी १८ दशमलव ५ ओभरमै सबै विकेट गुमाएर जम्मा ८८ रनमा समेटियो। 

शनिबार नै भएको अर्को खेलमा तनहुँले विजयी सुरुवात गरेको छ।तनहुँका वंश क्षेत्रीले अविजित ७० रनको अर्धशतकीय पारी खेल्दा बागलुङ १० रनले पराजित भएको छ।

समूह ‘ए’को खेलमा तनहुँले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको  थियो।तनहुँका लागि वंश छेत्रीले ५४ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७० रन बनाउनुभयो।

१ सय ३५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाग्लुङ ६ विकेट गुमाउँदै १ सय २४ रनमै सीमित रह्यो।प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भएको प्रतियोगितामा आइतबार पहिलो खेल म्याग्दी र तनहुँ तथा दोस्रो खेल बागलुङ र स्याङजाकाबिच हुनेछ।

समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन्।प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो।प्रतियोगिताको विजेता टिमले नगद १ लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।