मेक्सिकोसिटी (मेक्सिको), पुस १४ गते । मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ९८ जना घाइते भएको मेक्सिकन नौसेना सचिवालयले जनाएको छ ।
तेहुआनटेपेकको इस्थमसको इन्टरओसेनिक कोरिडोरको निरीक्षण गर्ने मेक्सिकन नौ सेनाले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनाको समयमा लाइन जेडमा रहेको रेलमा करिब २५० यात्रु सवार थिए । घाइते ९८ जना यात्रु मध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रुलाई सामान्य उपचारपछि घर फर्किएसँगै १३९ जना यात्रु खतरामुक्त भएको बताइएको छ ।
नौसेनाले घटनामा ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितलाई तत्काल सहायता प्रदान गर्न जिम्मेवारीपूर्वक, पारदर्शीरूपमा र कानुनको पूर्ण अनुपालन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेको छ । आपतकालीन प्रतिक्रियालाई समर्थन गर्न ३६० नौ सेना कर्मी, २० सवारी साधन, चार ग्राउन्ड एम्बुलेन्स, तीन एयर एम्बुलेन्स र एक रणनीतिक ड्रोन तैनाथ गर्दै विस्तृत खोजी र उद्धार अभियान सुरू गरिएको नौसेनाले जनाएको छ ।
अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन र पीडित र उनीहरूका परिवारलाई सहयोग गर्न सम्बन्धित एजेन्सीसँग समन्वयमा काम गर्न जारी राख्ने बताएका छन् । दुर्घटनापछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम पार्डोले नौ सेना र आन्तरिक सचिवालयका अधिकारी र मानव अधिकारकर्मीलाई दुर्घटना स्थलमा गएर प्रभावित परिवारलाई भेट्न निर्देशन दिनुभएको छ । रासस/एएनआई