• ८ मंसिर २०८१, शनिबार

राष्ट्रविभूति जयपृथ्वीबहादुर सिंह

blog

प्राचीनकालदेखि नेपाल राष्ट्रको निर्माणमा हाम्रा धेरै पूर्वजले आफ्नो जीवन व्यतीत गरेका छन्। यस्तै व्यक्तिमा मानवतावादी जयपृथ्वीबहादुर सिंहको नाम उच्च स्थानमा रहेको छ। वि.सं. १९३४ मा श्री ३ जङ्गबहादुरकी जेठी छोरी रुद्रकुमारीबाट जन्मेका थिए जयृथ्वीबहादुर। उनको वैवाहिक सम्बन्ध वि.सं. १९५१ मा राणा परिवारका जल्दाबल्दा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरकी छोरी खगदिव्येश्वरीसँग भएको हुनाले उनको राजकीय रवाफ उच्च हुँदै गयो। बझाङबाट वि.सं. १९४२ मा काठमाडाँै छिरेका जयपृथ्वीबहादुरले श्री ३ जङ्गबहादुर कुँवर राणाजीले बेलायतबाट फर्केपछि थापाथली दरबारको दलान पाठशालामा स्थापित अङ्ग्रेजी पाठशालामा पढ्दै १९५१ दरबार स्कुलमा पढी कलकत्ता बोर्डबाट म्याट्रिक पास गरे र इलाहावाद कलेजमा आइएसम्म पढे। उनको बाल्यकालबाटै राम्रो पढाइका कारण उनी सबै गुरुहरूका प्रिय छात्र हुन सके। थापाथली दरबारमा बस्ने हुनाले, जङ्गबहादुरले बेलायतबाट झिकाएका अङ्ग्रेजी अखबारहरू उनले पढ्दा पढ्दै उनमा समाजशास्त्र, इतिहास, विज्ञान, कानुन, राजनीति र कूटनीतिको ज्ञान घुस्न गयो भने अर्कातिर नेपाल दरबारमा संस्कृतका प्रकाण्ड पण्डितहरूको सङ्गतका कारण उनमा आर्य सनातनी हिन्दु वेद, उपनिषद् र पुराणहरूको दार्शनिक ज्ञान पनि प्रविष्ट हुन गयो।

जयपृथ्वीबहादुर एक संवेदनशील शिक्षित व्यक्तिमा, राणा परिवारभित्रकै जङ्ग र शमशेरहरू बीचको हिंसा तथा प्रतिहिंसाका कारण राजकीय शक्ति आर्जन गर्ने प्रवृत्तिगत घटनाहरूबाट उनको दिल र दिमागमा नकारात्मक असर देखा पर्न थाल्यो। यद्यपि उनले श्री ३ देवशमशेरजस्तो प्रजातान्त्रिक र सुधारवादी शासक भेट्टाएकाले छोटो समय भए पनि, आफ्नो प्रखर प्रतिभा प्रदर्शन गरेर सार्वजनिक गर्ने मौका पाए। उनले नेपाली भाषा, साहित्य र दर्शनलाई आधारभूत तहबाट दुई दर्जन जति विविध विषयका पुस्तक तयार पारी, विद्यालयको 

पाठ्यक्रममा समावेश गराई, नेपाली बालबालिकाको पढाइमा ठूलो क्रान्ति ल्याई युगानुकूल अमूल्य सेवा गरे।

वि.सं. १९५८ वैशाख २४ गते साप्ताहिक गोरखापत्रको स्थापना कालदेखि संलग्न रही दुई वर्षपछि त्यसको तालुकवाला भएर १९७३ सालसम्म सेवारत रहे। उनलाई ससुरा श्री ३ चन्द्रशमशेरले कलकत्तास्थित नेपाली वाणिज्यदूतको पदमा नियुक्त गरी पठाए। त्यसबीचमा उनले गोरखापत्रको पारिश्रमिक नलिइकन लेखहरू पठाउँदै, निर्देशन दिँदै, सेवा गरी नै रहे। नेपालमा रहँदा उनलाई श्री ३ चन्द्रशमशेरले न्यायाधीश, कर्मचारीको छनोट, योग्यताको 

मूल्याङ्कन, पदोन्नतिको सिफारिस गराउने जिम्मा दिएको पाइन्छ र उनले कुनै पक्षपात नगरी, आफ्नो पदीय जिम्मेवारी पूरा गरेका थिए। उनले श्री ३ चन्द्रशमशेरको बेलायत यात्रामा सहभागी भएको समयमा महारानी भिक्टोरियाबाट कर्णेलको पद पाएका थिए।    

बेलायतबाट फर्केपछि श्री ३ चन्द्रशमशेरको र जयपृथ्वीबहादुर सिंहका बीचमा सम्बन्ध टाढिँदै गयो र अन्त्यमा त्यसले उग्ररूप लियो। त्यसका अनेक कारणहरूमध्ये श्री ३ चन्द्रशमशेरको प्रभुत्वबादी स्वभाव नै जिम्मेवार देखिन्छ। दुवैको बीचमा सम्बन्ध तितो र रुखो बन्दै गएर जयपृथ्वीबहादुरले नेपाल छोडी भारतको इलाहाबाद र 

बेङ्लोरमा गएर बाँकी आयु बिताए। नेपालबाट निर्वासित रहेर पनि उनले जन्मभूमिको माया प्रगाढ गराउने अठोटसाथ पूर्वीय दर्शनमा आधारित मानवतावादको अङ्ग्रेजीमा तीन वटा ग्रन्थ तयार पारे। ई. १९२८ अर्थात् वि.सं. १९८५ मा दक्षिण भारतको बेङ्लोर, गङ्गाधरचट्टी रोड, अल्चुरटेङ्कको छेउमा एउटा भवन खरिद गरी आफू पनि त्यहीँ बस्ने र सोही भवनलाई मानवतावादी सङ्घको प्रधान कार्यालय स्थापना गरी विश्व मानव कल्याणहेतू काम गर्न थाले। सो संस्थाले एक वर्ष भित्रमै यस्तो व्यापकता पायो कि सारा दक्षिण एसियाका धेरै मानिस मानवतावादी सङ्घका आजीवन सदस्य हुन थाले। भारतभर त्यस संस्थाको प्रचार भएको हुनाले विद्वान्हरूको सुझावअनुसार जयपृथ्वीबहादुर सिंहले त्यसको प्रचार युरोपमा पनि गर्ने अभियानस्वरूप वि.सं. १९८६ मा युरोप यात्रामा निस्के। उनले शोभियत रुसबाहेकका प्रायः युरोपीय देश क्रमशः बेलायत, फ्रान्स, स्विट्जरल्यान्ड, हङ्गेरी, इटाली, जर्मनी, चेकोस्लोभाकियाजस्ता मुलुकमा प्रवचन दिँदै मानवतावादी सङ्घका शाखाहरू स्थापना गर्दै ठूलो प्रचार प्रसार अभियान चलाएर नेपाल देशको इज्जतलाई उचा पार्ने काम गरे। उनको संस्थाको त्यो परिपक्व प्रचार केवल युरोपमा मात्र सीमित नरही अमेरिकासम्म पनि पुग्यो।

अमेरिकाको शिकागो सहरमा ई. १८९३ अर्थात् वि.सं. १९५० मा पहिलो विश्व धर्म सम्मेलनको आयोजना भएको, जसमा स्वामी वेकानन्द सहभागी थिए, सोही सहरमा वि.सं. १९९१ मा दोस्रो पटक विश्व–धर्म भ्रातृत्व सम्मेलन आयोजना गरियो। सो सम्मेलनमा नेपालका राजकुमार (बझाङी राजा) जयपृथ्वीबहादुर सिंहलाई पनि विश्व मानवतावादी सङ्घको अध्यक्षका हैसियतले सहभागी हुने निमन्त्रणा मिल्यो। त्यस सम्मेलनमा जयपृथ्वीबहादुर सिंहले १० बटाजति वक्तव्य दिएपछि त मिसाउरी, इलिनियोस, शिकागो, मिसिसिपीजस्ता सहरहरूमा मानवतावादी सङ्घका शाखाहरू गठन गरिएर सयौँ अमेरिकी सो संस्थाका आजीवन सदस्यसमेत भए। त्यस कार्यबाट उनको प्रख्याति विश्वव्यापी हुन पुग्यो। 

युरोप र अमेरिकाबाट फर्केको केही समयपछि १९९३ मा दोस्रो विश्वयुद्ध चर्किने अवस्थामा सारा देश त्यस युद्धमा दुवै पक्षमा बाँडिएर युद्धमा सहभागी हुन जमजमाइरहेका थिए। त्यति बेला इटालीले अफ्रिकाको इथियोपिया देशको राजधानी अदिशअब्बामा आक्रमण गरी विषालु मुष्टार्ड ग्यास विस्फोटन गरेर रोगको महामारी फैल्याएको थियो। मानवतावादी सङ्घका अध्यक्ष जयपृथ्वीबहादुर सिंहले बर्माको राहदानी लिई, रेडक्रसको काम गर्दै आफ्नै खर्चमा पाँच हजार रुपियाँ बराबरका ग्यास मास्क किनेर ती मास्क निशुःल्क वितरण गरे तर उनी 

अङ्ग्रेजहरूबाट पक्राउ परी जेलमा कोचिएको कुरा राणाहरूले थाहा पाएका हुनाले उनीहरूकै अनुरोधमा छुटकारा पाएर बेङ्लोर फर्कन सफल भए। 

वि.सं. १९९४ मा जयपृथ्वीबहादुरलाई बर्मेलीहरूले आफ्नो देशमा निमन्त्रणा गरी राजधानी रङ्गुनमा बोलाए, जहाँ उनले जे.पी. इन्स्टिच्युटको स्थापना गरेर मानवतावादी आधार स्कुलको स्थापना गरी पाठ्यसामग्रीसमेत तयार पारी लागू गरेका थिए। एक वर्ष जति त्यहाँ बसेर उनी बेङ्लोर फर्केर आफ्नो काममा लाग्दै संस्थाको उन्नतिमा कटिबद्ध भएर लागिरहेका थिए। दाहिने आँखाको कमजोरीका कारण दुई पटकसम्म युरोपमा गएर अपरेसन गरी उपचार गर्दा उनको स्वास्थ्य दिनानुदिन बिग्रँदो अवस्थामा पुगिरहेको थियो। अन्ततः वि.सं. १९९७ मा उनको इहलीला आफ्नो कार्यक्षेत्र बेङ्लोरमा समाप्त भयो। उनी बहुमुखी प्रतिभाशालीका धनी थिए भन्ने कुरा कृतिहरूको अध्ययनबाट स्पष्ट हुन जान्छ। उनी धेरै विधाका ज्ञाता थिए भन्ने प्रमाण २३ वटा कृति सोही समयमै प्रकाशित भएकाबाट स्पष्ट हुन्छ। यस्ता मानवतावादी व्यक्तित्वलाई सरकारले ढिलै भए पनि उच्च सम्मान दिएको छ।