• १२ साउन २०८१, शनिबार

मकै गोड्न नमान्दा बालविवाहको उजुरी, दलित परिवार भोकै

blog

कमाउने युवा थुनामा पर्दा भोकै बसेका दलित परिवार । तस्बिर: गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, साउन १२ गते । एक अपाङ्ग दलित महिलालाई छिमेकीले मकै गोड्न बोलाउँदा उनले छोरी पराई घर गई सकेको भनेपछि फोनबाट प्रहरीमा बालविवाहको उजुरी परेको छ । महिलाले श्रीमानको मृत्युपछि आरनको काम बन्द हुँदा छोराछोरी हुर्काउन गाह्रो भएको गुनासो गर्नुभएको छ ।   

बालविवाह गरेको उजुरीका आधारमा दशरथ चन्द नगरपालिका–४ का अन्दाजी २१ वर्षीय किशन तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा दशरथ चन्द नगरपालिका–१ बस्ने किशोरी र उहाँकी अपाङ्ग एकल आमालाई पनि प्रहरीले अनुसन्धानका लागि बोलाएको छ । आमासँगै किशोरीका १२ वर्षीय अपाङ्ग भाइ पनि सँगै आएका छन् । 

स्थानीयबाट बालविवाह गरेको भन्ने उजुरी आएकाले मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाएको बैतडी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँले, प्रारम्भिक अनुसन्धानका क्रममा युवकको उमेर २१ वर्ष र नाबालिका भनिएकी किशोरीको उमेर १९ वर्ष रहेको जानकारी प्राप्त भएको बताउनुभयो । यद्यपि, प्रहरीले स्पष्ट उमेर खुल्ने कागज प्रमाणको खोजी गरिरहेको बताइएको छ । किशोरीलाई जिल्ला अस्पतालको एक द्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको छ ।  

कानुनले २० वर्ष नपुगी विवाह गर्न बन्देज लगाए पनि स्वास्थ्य कार्यालय बैतडीको २०८०-२०८१ को तथ्याङ्क अनुसार एक वर्षमा बैतडीमा २० वर्ष मुनिका ३१९ जनाले बच्चासमेत जन्माएका छन् । एक वर्षको अवधिमा तीन सय भन्दा बढी बालिकाले बच्चा जन्माउँदासमेत स्थानीय तहले बालविवाह रोक्न सकेका छैनन् । बालविवाहका घटनामा प्रहरीले युवा र युवतिलाई अलग गरेर अभिभावको जिम्मा लगाउँदै आए पनि दलित परिवारमाथि मुद्दा नै चलेको संभवत यो पहिलो घटना मानिएको छ । 

राजनीतिक दबाबमा मुद्दा दर्ता 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार लिखित उजुरी कसैको नआए पनि मन्त्रालय र विभागसम्म बालविवाह भएको गुनासो र राजनीतिक दबाब आएपछि मुद्दा चलाउनु परेको बताइएको छ । 

“बैतडीमा बालविवाहको अवस्था विकराल छ । कति जनालाई मुद्दा चलाउने ?,” प्रहरी नायव उपरीक्षक दीपक गिरीले भन्नुभयो,“ यो पनि मुद्दा नै चलाउनु पर्ने अवस्था त होइन, तर मन्त्रालय र विभागबाट दिनदिनै फोन आउन थाले ।” 

दलित महिलाका छिमेकी लेनै बालविवाह भएको भन्दै काठमाडौँबाट प्रहरी विभाग, मन्त्रालयसम्म मुद्दा चलाउन दबाब दिएको बताइएको छ । बैतडी प्रहरीले राजनीतिक दबाब दिने व्यक्तिको परिचय भने सार्वजनिक गरेको छैन ।         

बालिकाकी आमा युवकको घरमा   

प्रहरीले छोरी र युवकलाई लगेको खबर पाएपछि दशरथ चन्द नगरपालिका–१ बस्ने किशोरीकी आमा मुन्नी लुहार युवकको घर दशरथ चन्द नगरपालिका–४, तिर गाउँ पुग्नु भएको छ । उहाँको साथमा १२ वर्षको अपाङ्ग छोरा छ ।  

घटना बारे सुनाउँदै किशोरीकी आमाले भन्नुभयो, “श्रीमानको मृत्यु भएको १२ वर्ष भयो । आरन पेसाबाट बालीघरेको काम गरेर छाक टार्दै आई रहेका थियौँ । श्रीमानको मृत्युपछि आरन बन्द भयो । गाउँका गैर दलितको घरमा घाँस दाउरा काट्दै खेतीपातीका बेला काममा सघाएर अन्न माग्दै छोरा/छोरी हुर्काए ।”

आँसु खसाल्दै उहाँले अगाडि भन्नुभयो, “गएको असारमा गाउँका गैर दलितले मकै गोड्ने बेला भयो, आउनू भनेका थिए । पालनपोषण गर्न नसकेपछि छोरीलाई इष्टमित्र नाता पर्नेको घरमा दिइसकेकाले मकै गोड्न आउन नसक्ने भने । मकै गोड्न नसक्दा गाउँका मानिसले प्रहरीलाई फोन गरेपछि अहिले बालविवाहको मुद्दा चलेको छ ।”

‘भोकै बस्दा कसैले साधेन’  

युवतिकी आमा मुन्नी लुहारले आरनको काम गर्ने श्रीमानको मृत्युपछि कयौँ दिन छोराछोरी भोकै बस्दा कसैले पनि सोधखोज नगरेको बताउनुभयो । छाक टार्ने अन्न नहुँदा छोरी विद्यालय जान सकिनन् । घरमा छाक टार्ने अन्न नहुँदा युवतिले चार वर्ष अघि विद्यालय छाडेकी थिइन् । छिमेकीको घरमा काम गरेर मिलेको अन्नले आमा, अपाङ्ग छोरा र युवतिले छाक टार्दै आई रहेका थिए । 

युवतिकी आमाले बताए अनुसार अर्कोको घरमा कति दिन काम गरेर पेट पाल्ने ? भन्दै गएको जेठ ४ गते छोरीलाई पालनपोषण गर्ने र २० वर्ष पुगेपछि विधिवत् रूपमा विवाह गर्ने सहमति भएको थियो । देवीदेवता साक्षी रोखेर छोरीलाई पालन पोषण गर्न ज्यामी काम गर्ने इष्टमित्रको घर पठाएको युवतिकी आमा मुन्नी लुहारले बताउनुभयो । 

मुद्दा चलेपछि दुई परिवार भोक भोकै  

बालविवाहको उजुरीपछि कमाउने युवक थुनामा परेपछि दलितका दुई परिवारलाई छाक टार्न धौधौ परेको छ । २१ वर्षीय किशन तिरुवा ज्यामी काम गरेर परिवार पाल्दै आई रहेका थिए । किशनको घरमा पनि बिरामी आमा बुवा र एक भाइ छन् । कमाउने छोरो पाँच दिनदेखि प्रहरी हिरासतमा रहेपछि परिवारको बिचल्ली भएको युवककी आमा पार्वती तिरुवाले बताउनुभयो । घरमा दाल, चामल र नुन सकिएको उहाँले पीडा सुनाउनुभयो । युवकका बुवा जन्डिस रोग लागेर ओछ्यानमा थला परेका छन् । 

बालविवाहको मुद्दा चलेपछि ज्याला मजदुरी गरेर छाक टार्दै आई रहेका दुई दलित परिवार एउटै छानामुनि भोक भोकै बसिरहेको स्थानीय प्रेम बोगटीले बताउनुभयो । छाक टार्ने अन्न नहुँदा आफूले सक्दो सहयोग गरेको उहाँले बताउनुभयो । छिमेकीले एक दुई माना चामल दिएपछि चुलो बल्ने गरेको दलित परिवारको भनाई छ ।   

बस्ने घर छैन     

बाल विवाहको मुद्दामा प्रहरी हिरासतमा रहेका किशन तिरुवाको बस्ने घर छैन । चार वर्ष अघि नेपाल सरकारले बुवा आमाका लागि बनाई दिएको निलो रङ्गको कर्कटपाताले छाएको तीन कोठे भूँइतले घरमा दुई परिवार बस्दै आएका छन् । खेतबारी नहुँदा ज्याला मजदुरी गरेर छाक टार्दै आएको युवकी आमा पार्वती तिरुवा पीडा सुनाउनुभयो । कमाउने छोरा प्रहरी हिरासतमा परेपछि दलित परिवारलाई साँझ बिहानको छाक टार्न धौधौ परेको छ ।

बैतडीमा ३२ प्रतिशत बालविवाह

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बैतडीमा १५ देखि १७ वर्षको उमेरमा बालविवाह गर्नेको सङ्ख्या ३२.३ प्रतिशत रहेको पाइएको छ । जनगणना अनुसार दशरथ चन्द नगरपालिकामा मात्रै बालविवाह गर्नेको सङ्ख्या १०.६ प्रतिशत रहेको छ । 

बालविवाह रोक्न जिल्लामा गएको १२ वर्षदेखि संयुक्त राष्ट्रिय जनसङ्ख्या कोष लगायतका संस्थाले करोडौँ रुपियाँ खर्च गरेर सचेतना अभियान चलाए पनि बालविवाह रोकिन सकेको छैन । स्थानीय तहको सरकारेसमेत बालविवाह हुने कारण पत्ता लगाएर निवारण गर्न सकेका छैनन् । 

स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तथ्याङ्क अनुसार २० वर्ष नपुग्दै गर्भवती हुने आमाको सङ्ख्या बढ्दै गइरहेको छ । कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार बालविवाह गरेपछि २० वर्ष नपुग्दै गर्भवती हुन नदिन स्थानीय तहले सचेतना अभियान चलाउन नसक्दा वर्ष २०८०-२०८१ मा २० वर्ष मुनिका ३१९ जना गर्भवतीले बच्चा जन्माएका छन् ।