• २८ मङ्सिर २०८२, आइतबार

कवि दुर्गादेवीको तेस्रो कृति सार्वजनिक

blog

कवि दुर्गादेवी ढकालको पुस्तक सार्वजनिक गरिदै ।

गोरखापत्र समाचारदाता 

सिन्धुलीमाढी, मङ्सिर २७ गते । सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँका कवि दुर्गादेवी ढकालको तेस्रो कृति भजन तथा कविता सङ्ग्रह  बुढ्यौलीको कलम शनिबार सार्वजनिक गरिएको छ । 

साहित्यकार रमेश मोहन अधिकारी, बुढ्यौली साहित्य प्रतिष्ठान सिन्धुलीका अध्यक्ष शम्भु गजुरेल, उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद ढकाल, बरिष्ठ पत्रकार शेषराज दाहाल, कवि जानुका अन्जान गुरूङ र कवि दुर्गादेवी ढकालले संयुक्त रूपमा कृति बिमोचन गर्नुभएको हो।

कवि ढकालका यसअघि स्मृति पुस्तक प्रेमगंगा (२०७४) र काब्यसंग्रह भूस्वर्ग हो सिन्धुली (२०८१) प्रकाशित छन् । उहाँको संस्मरण सङ्ग्रह प्रकाशन्मुख छ । २००४ मङ्सिर २७ गते सिन्धुलीको चपौलीमा जन्मनुभएकी कवि ढकालले विद्यालय शिक्षा आर्जन गर्ने अवसर नपाए पनि घरमै संस्कृत शिक्षा लिनुभएको थियो ।

कवि ढकालको ७९ औं जन्मोत्सवको अवसरमा उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठान र बुढ्यौली साहित्य समाज सिन्धुलीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा अतिथि तथा उपस्थित साहित्यकारले कविको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको थियो । समीक्षक तुलसीप्रसाद ढकालले सार्वजनिक पुस्तक र कविको लेखकीय पक्षबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा कवि ढकाल तथा अन्य कविले सार्वजनिक पुस्तकका केही कविता वाचन गर्नुभएको थियो । कवि जानुका अन्जान गुरूङ, श्याम पुलामी, कृष्णप्रसाद बराल सुकुम्बासी, शम्भु गजुरेल, लोकेन्द्र डहरे, केशव अधिकारी, केशवप्रसाद फुयाल, गोविन्द काफ्ले, सोमिता खड्का, राधेशप्रसाद पोखरेल लगायतले कविता, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।