अविनाश चौधरी
धनगढी, चैत २९ गते । कैलालीमा हुलाकी राजमार्ग दुर्घटनाको ‘हटस्पट’ बनेको छ।
ग्रामीण क्षेत्रलाई विभिन्न सदरमुकाम र व्यापारिक केन्द्रसँग जोडेको यो सडकमा महिनैपिच्छे दुर्घटनामा मान्छेले ज्यान गुमाइरहेका छन् । शनिबारमात्रै कैलारी गाउँपालिका–१ स्थित सो राजमार्गमा बोलेरो पिकअप जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९, फूलबारीका २२ वर्षीय राममिलन चौधरीको ज्यान गएको छ ।
गत चैत ८ गतेमात्रै पवेराका ६० वर्षीय कलेसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सीतरानी चढेको गोरुगाडालाई ट्रकले ठक्कर दिँदा दुवै जनाको ज्यान गएको थियो । गोरुगाडा चढेर आफ्नो गन्तव्यतर्फ गइरहेका चौधरी दम्पतिलाई पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।
कैलालीको कैलारी गाउँपालिका–५, बैजपुर नजिक हुलाकी राजमार्गमा दुर्घटना भएको थियो ।
गत फागुन ५ गते पनि इलाका प्रहरी कार्यालय हसुलिया नजिकै हुलाकी राजमार्गमा कैलारी–७ का वडाध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीले महिलाको ज्यान लिएको थियो । नियन्त्रण गुमाएको भे. १ च. ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडीले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दियो । ठक्करबाट मोटरसाइकल चालक कैलारी–५ की ३० वर्षीया ईप्सा चौधरीको घटनास्थलमै ज्यान गएको थियो ।
ग्रामीण क्षेत्रको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्गमा यस्ता दुर्घटना बढ्दो छ । राजमार्ग बने पश्चात तीव्र गतिमा गुड्ने सवारी साधनका कारण थुप्रैले ज्यान गुमाइरहेका छन् । ग्रामीण क्षेत्रका जनता र उनीहरूका उत्पादनलाई बजारसँग जोडेको यो राजमार्ग सुरक्षाको सवालमा भने चिन्ताजनक बनिरहेको छ । विशेष गरेर कैलारी गाउँपालिकाको क्षेत्रमा बढी दुर्घटना भइरहेका छन् ।
डेढ दशकयता कालोपत्रे भई राम्रो भएको हुलाकी राजमार्ग पछिल्लो समय स्तरोन्नति हुँदै जाँदा दुर्घटना झन भइरहेका छन् । यो राजमार्गमा कैलारी गाउँपालिका, भजनी नगरपालिकाको पुरै क्षेत्र र टीकापुर नगरपालिका, धनगढी उपमहानगरपालिकाको पनि धेरैजसो क्षेत्रमा सडक बत्ती छैन । राति अँध्यारो रहेका कारण तीव्र गतिका सवारी साधनहरू ठोक्किने, मान्छे, गोरुगाडालाई ठक्कर दिने जस्ता घटना बढ्न थालेको स्थानीयको भनाइ छ । उनीहरूले हुलाकी राजमार्ग ज्यानमारा बनिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरण गर्न आवाज उठाएका छन् ।
कैलारी गाउँपालिकाको मुख्य सडकका साथै सवारी साधन धेरै चल्ने हुलाकी राजमार्गमा सडक बत्ती जडान भएमा सडक दुर्घटना रोकथाममा सहयोग पुग्ने कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका दयाराम चौधरीले बताउनुभयो । उहाँले बत्ती जडान भएमा अन्य सुरक्षामा पनि सहयोग पुग्ने भन्दै गाउँपालिकाको कार्यालयको ध्यानाकर्षण गराउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को हालसम्म कैलालीमा २९५ सवारी दर्घटना भएका छन् । जसमा ६५ जना व्यक्तिको मृत्यु भएको छ भने ४६६ जना घाइते भएका छन् । धेरैजसो दुर्घटना हुलाकी राजमार्गमा भइरहेको जनाइएको छ ।
हुलाकी राजमार्गको सबै क्षेत्रमा सडक बत्ती नहुनु र लापरवाहीपूर्वक सवारी साधन चलाउने कारणले हुलाकी राजमार्गमा दुर्घटना घटिरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख चक्र देउवाले बताउनुभयो । “हालसालै बनेको कालोपत्रे सडक रहेकाले धेरै तीव्र गतिमा सवारी साधन कुदाउने गरेको देखिएको छ”, उहाँले भन्नुभयो,“सुरक्षा निकाय र सिभिल नागरिक मिलेर दुर्घटना न्यूनीकरणको प्रयास अगाडि बढाउन जरुरी छ ।”