• २९ चैत २०८२, आइतबार

आगलागीबाट दुई घर र एक गोठमा क्षति

blog

आगलागीबाट क्षति भएको घर । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २९ गते । बागलुङको गलकोट नगरपालिका–७, मल्म बामियामा आगलागी हुँदा दुई घर र एक गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

शुक्रबार मध्यरातमा स्थानीय टीकाबहादुर खड्काको घरबाट सुरु भएको आगलागीबाट मानवीय र पशुचौपायाको क्षति नभए पनि भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको मल्मका वडा सदस्य नरबहादुर थापामगरले जानकारी दिनुभयो ।

एक्कासि आगलागी हुँदा घरमा सुत्नुभएकी टीकाबहादुरकी श्रीमती, बुहारी र नातिनीले भागेर ज्यान जोगाउनुभएको थियो । घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद जल्दा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको वडा सदस्य मगरले बताउनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

टीकाबहादुरले आगामी वैशाखमा आफ्नो चौरासी पूजाको तयारी गरिरहनुभएको थियो । पूजाका लागि जोहो गरी राखिएको नगद र सामग्रीसमेत जलेर खरानी भएको छ । घरमा रहेको केही सुन जलेको अवस्थामा भेटिए पनि केही फेला नपरेको बताइएको छ । आगलागीपछि खड्का परिवार आफन्तको शरणमा बस्दै आएको छ ।

रातको समयमा लागेको आगो स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्तजङ्ग पाण्डेका अनुसार आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।