• २९ चैत २०८२, आइतबार

सिंहदरबार पुनर्निर्माण सुरु

blog

काठमाडौँ, चैत २९ गते । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुनर्निर्माण सुरु गरिएको छ । गत भदौ २४ गते प्रदर्शनका क्रममा भएको आगजनीबाट सिंहदरबारको मूल भवन तथा सिंहदबार परिसरभित्र रहेका अन्य भवन क्षतिग्रस्त भएका थिए ।

सहरी विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिई) गणेश कर्माचार्यले यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको सिंहदरबार मुख्य भवनको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुनर्निर्माण सुरु गरिएको जानकारी दिनुभयो । पूर्वी, उत्तरी र दक्षिणी मोहडामा मात्र बाहिरी क्षति पुगेकाले अबको दुई महिनाभित्र पुनर्निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।उहाँका अनुसार चालु आर्थिक वर्ष (२०८२/८३) को जेठ मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । यसको पुनर्निर्माणको ठेक्का घिमिरे/बडू (संयुक्त) निर्माण कम्पनीले पाएको हो । सिंहदरबारको मौलिक स्वरूपमा कुनै परिवर्तन नआउने गरी पुनर्निर्माण भइरहेको उहाँले स्पष्ट पार्नुभयो । 

सिंहदरबारको पश्चिमी मोहडा आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भइसकेकाले तत्काल त्यसको अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनपछि पुनर्निर्माण सुरु गरिने उहाँले बताउनुभयो । यस मोहडाको निर्माण पनि विशेष प्रकृतिका भएकाले पुनर्निर्माणका लागि अध्ययन भइरहेको उहाँले स्पष्ट पार्नुभयो । आगलागीले १२० वर्षभन्दा पुरानो सिंहदरबारको मूल भवनभित्रको ‘स्टेट हल’ पूरै ध्वस्त भएको थियो । ऐतिहासिक र पुरातात्विक महत्वको सो हलभित्र ऐतिहासिक र पुरातात्विक कला, कलात्मक पेन्टिङ तथा ऐतिहासिक किसिमबाट साजसज्जा सङ्गृहीत थियो । राणाकालमै अति विशिष्ट विदेशी पाहुनालाई स्टेट हलमा स्वागत गर्नुका साथै विदेशी पाहुना नेपाल आउँदा उनीहरूले दिएका बहुमूल्य उपहार सो हलमै सङ्गृहीत थिए । यसअघि २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोगमार्फत पुरानै स्वरूप नबिग्रिने गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम धान्न सक्ने गरी प्रबलीकरण गरिएको थियो ।

अन्य भवनको पुनर्निर्माण प्रक्रिया 

सिडिई कर्माचार्यले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा रहेका अन्य क्षतिग्रस्त भवनको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । पुलचोक इन्जिनियरिङ कलेजको सहयोगमा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडालगायत अन्य भवनको अध्ययन भइरहेको छ । अध्ययनको विस्तृत प्रतिवेदन तयार भएपछि पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो ।

विक्रम संवत् १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक, युरोपमा विकास भएको ‘नियो क्लासिकल’ शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो । प्रधानमन्त्री चन्द्रशमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाई आफ्नो निजी निवासका रूपमा युरोपेली शैलीमा सिंहदरबारको निर्माण गर्न लगाउनुभएको थियो । वास्तुकला तथा ललितकलाका दृष्टिकोणले अनुपम तहखानासहित पाँचतले भवनका विशेषतः चार वटा महत्वपूर्ण भाग छन् । उत्तर, दक्षिण र पूर्व मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल (टोटल बुल्ट अप एरिया) १२ हजार ४६१.८१ वर्गमिटर रहेको छ ।