वसन्त पराजुली
नारायणगढ, चैत २९ गते । गृहमन्त्री सुधन गुरुङले देशमा कस्तो नागरिक तयार हुँदै छ भन्ने कुरा शिक्षाको गुणस्तरमा भर पर्ने बताउनुभएको छ ।
आफूलाई बाल्यकालमा पढाउने शिक्षकहरूलाई सँगै राखेर चितवनमा आइतबार मन्त्री गुरुङले विद्यार्थीको भविष्य गुरुको शिक्षामा नै निर्भर रहने धारणा व्यक्त गर्नुभयो । "गुरुले कस्तो शिक्षा दिनुभयो र कस्तो नागरिक उत्पादन हुँदै छ भन्ने कुरा उहाँहरूकै शिक्षामा भर पर्ने विषय हो," मन्त्री गुरुङले भन्नुभयो ।
पश्चिम चितवनको ज्योतिनगरस्थित आफूले माध्यमिक तहको शिक्षा हासिल गरेको कालिका बोर्डिङ स्कुलको अवलोकनपछि उहाँले आफ्ना पूर्वशिक्षकहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको औँल्याउँदै यसमा विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "शिक्षा प्रणालीलाई परिमार्जन (रिफर्म) गर्नुपर्छ । शिक्षा दिने गुरु महत्त्वपूर्ण हुनुहुन्छ, व्यक्ति कस्तो बन्छ भन्ने कुरा गुरुले दिने संस्कार र शिक्षामा आधारित हुन्छ ।"
फरक प्रसङ्गमा पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै गृहमन्त्री गुरुङले सहकारी ठगी अभियोग लागेका जीवी राईलाई पक्राउ गर्ने प्रक्रियाबारे गोपनीयताका कारण अहिले नै सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, "यसबारे अहिले बोल्नु हुँदैन । मन्त्रीको जिम्मेवारी लिँदै गर्दा हामीले गोपनीयताको शपथ लिएका हुन्छौँ, त्यसैले सबै कुरा सार्वजनिक गर्न मिल्दैन ।"
यसअघि मन्त्री गुरुङ शनिबार मध्यरातमा चितवन आइपुग्नुभएको हो । उहाँलाई भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा प्रहरी अधिकारीहरूले औपचारिक स्वागत गरेका थिए ।