• २९ चैत २०८२, आइतबार

रुपैडिहा–बहराइच रेलमार्ग सञ्चालनको तयारी : उच्चस्तरीय टोलीद्वारा निरीक्षण

blog

सञ्चालनका लागि तयारी अवस्थामा रहेको नेपालगन्ज रोड रेलवे स्टेसन । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, चैत २९ गते । यहाँस्थित नेपाल–भारत सीमावर्ती रुपैडिहा–बहराइच–गोन्डा रेलमार्गमा केही दिनभित्रै रेल सञ्चालन हुने सम्भावना बढेको छ ।

शनिबार साँझ पूर्वोत्तर रेलवे जोन गोरखपुरका महाप्रबन्धक उदय बोलवर्करको नेतृत्वमा उच्चस्तरीय रेल अधिकारीहरूको टोलीले रुपैडिहास्थित नेपालगन्ज रोड रेलवे स्टेसनको स्थलगत अन्तिम निरीक्षण गरेपछि सो स्टेसनबाट रेल छिट्टै सञ्चालन हुने आशा पलाएको हो ।

भारतीय रेल विभाग गोरखपुर जोनका महाप्रबन्धक बोलवर्करसँगै डिआरएम (लखनउ) गौरव अग्रवाल र प्रधान सुरक्षा आयुक्त सत्यप्रकाशसमेत सहभागी टोलीले स्टेसनको प्लेटफर्म, खानेपानी व्यवस्था तथा यात्रु प्रतीक्षालयको अवस्थाबारे विस्तृत अवलोकन गरेको थियो ।

गोरखपुरबाट विशेष निरीक्षण रेल यानमार्फत गोन्डा–बहराइच–नानपारा हुँदै रुपैडिहा पुगेको उच्चस्तरीय टोलीको यस भ्रमणलाई रेल सञ्चालनको तयारीको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

स्टेसनको निरीक्षणपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय रेलवेका मुख्य जनसम्पर्क अधिकारी सुमित कुमारले रुपैडिहा–बहराइच रेलमार्गको मिटरगेजबाट ब्रोड गेजमा स्तरोन्नति गरिएर नयाँ स्टेसनहरू समेत निर्माण गरिएपछि पहिलो पटक उच्च अधिकारीहरूको टोलीले निरीक्षण अनुगमन गरेको बताउनुभयो । उहाँले यस निरीक्षणपछि अब केही दिनभित्रै निर्धारित गन्तव्यका लागि रेल सेवा सुरु गरिने जानकारी दिनुभयो । त्यसका लागि एक–दुई दिनमै रेल विभागले मञ्जुरी दिने पनि उहाँको भनाइ थियो ।

भारतीय रेल विभाग लखनउका प्रचार अधिकारी सफदर हुसैनका अनुसार निरीक्षणका क्रममा स्टेसनको पूर्वाधार, प्लेटफर्म निर्माण तथा खानेपानी व्यवस्थाको समीक्षा गरिएको छ । गोन्डा–रुपैडिहा खण्डमा छिट्टै रेल सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

यसअघि सन् २०२५ सेप्टेम्बर १९ मा नयाँ रेल लाइनको सिआरएस निरीक्षण सम्पन्न भए पनि उच्चस्तरीय अनुगमन नहुँदा सञ्चालनमा ढिलाइ भइरहेको थियो । करिब आठ महिनापछि भएको यस निरीक्षणले अब छिट्टै सेवा सुरु हुने अपेक्षा जगाएको स्थानीय बासिन्दाले बताएका छन् ।

रुपैडिहाका स्थानीय बासिन्दा नीरज अग्रवालले उच्च अधिकारीको निरीक्षणले रेल सञ्चालनको सुनिश्चितता बढाएको बताउँदै यो मार्ग सुचारु भएपछि भारत र नेपालका हजारौँ नागरिक लाभान्वित हुने उल्लेख गर्नुभयो । उहाँले यस रेलमार्गबाट यात्रा गर्नेमा भारतीयभन्दा नेपाली नागरिक धेरै हुने दाबी गर्नुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नन्दलाल वैश्यले रुपैडिहा–बहराइच रेल सेवा सुरु गर्न नेपाली नागरिकले लामो समयदेखि माग गर्दै आएको बताउनुभयो । उहाँले नेपाली बासिन्दा रेल चढेर विभिन्न गन्तव्यमा पुग्ने दिन अब धेरै टाढा नरहेको विश्वास व्यक्त गर्नुभयो ।