• २९ चैत २०८२, आइतबार

खजुरा गोल्डकपको तयारी पूरा

blog

सोमबारदेखि आयोजना हुने गोल्डकपको तयारी बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत २९ गते। बाँकेको खजुरा गाउँपालिका-४, डी गाउँमा सोमबारदेखि सुरु हुने एन्टि एरिना प्रथम खजुरा गोल्डकपको तयारी पूरा भएको छ । आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गरी गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 

क्लबका अध्यक्ष बालाराम खत्रीले सोमबार दिउँसो मिनी रङ्गशालामा उद्घाटन खेल हुने जानकारी दिनुभयो। खत्रीले भन्नुभयो, “पहिलो पटक गोल्डकप आयोजना गर्दैछौ, सबैको साथ र सहयोग प्राप्त भएको छ, पहिलो पटक खेल अवलोकनका लागि टिकट राखेका छौं । करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने आयोजकले जनाएको छ।” गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल र सङ्कटा स्पोर्ट्स क्लबबिच उद्घाटन खेल हुने छ। 

प्रतियोगितामा आयोजक न्यू डाफे स्पोर्ट्स क्लबसहित, जेविएम फूटबल एकेडेमी लखनउ, काक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेतालाई सात लाख रुपियाँ र द्वितीयलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल वैशाख ६ गते हुने छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गोल्डकपलाई आगामी वर्षदेखि बजेटमै राखेर निरन्तरता दिइने बताउनुभयो । प्रतियोगितामा करिब ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ।