• २७ मङ्सिर २०८२, शनिबार

मानव जीवन जोखिममा

blog

जलवायु परिवर्तनका कारक मुलुक वा महादेश यसबाट उत्पन्न सङ्कट जति ढाकछोप गर्न खोजे पनि पनि अब लुक्न नसक्ने अवस्थामा पुगेका छन् । सर्सर्ती हेर्दा जलवायुजन्य प्रकोप भनेको बाढी, पहिरो, डुबान मात्र हो भन्ने मानेर यसैलाई बढी प्रचारमा ल्याउँदा वास्तविक सङ्कट भने छायामा परिरह्यो । विश्व जलवायु परिवर्तनको खास सङ्कट हो तापक्रम वृद्धि र यसबाट भइरहेको मानवीय क्षति । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढिरहेकोमा सबैको सहमति छ । युरोप तापक्रम वृद्धिको सर्वाधिक मारमा परिरहेको छ । हुन त यसको कारक पनि युरोप नै हो भन्ने विज्ञहरूको दाबी नै छ । फ्रान्सेली समाचार संस्था ‘एएफपी’ ले केही समयअघि सार्वजनिक गरेको एक समाचार अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण हरेक वर्षको गर्मीयाममा युरोपको तापक्रमले रेकर्ड तोडिरहेको र यसैका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ । बढ्दो तापक्रमले यो वर्ष (सन् २०२५) युरोपको रेकर्डमा चौथो सबैभन्दा गर्मी भएको छ । यो गर्मीमा युरोपका विभिन्न सहरमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको छ । 

जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताले आफ्नो अध्ययनमा जलवायु परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धि र मृत्युदर जोड्ने प्रयास गरेका छन् । उनीहरूले अनुमानित मृत्यु प्रत्यक्ष अस्पताल रेकर्डमा नभई विगतका सहकर्मी–समीक्षा अध्ययनमा प्रयोग गरिएका नमुना विधिमा आधारित रहेर गरेका थिए । गर्मीको लहरका बेला हुने मृत्युको कारण अस्पतालमा मुटु, सास फेर्न गाह्रो हुने वा अन्य रोगलाई देखाइन्छ । यस्ता समस्या वृद्धमा झन् प्रबल हुन्छन् । यथार्थमा ती तापक्रम वृद्धिबाट भइरहेका छन् ।

यो वर्षको गर्मीको स्थिति बुझ्न बेलायतका वैज्ञानिकले जुनदेखि अगस्तसम्म आठ सय ५४ युरोपेली सहरमा तापक्रम औसत २.२ डिग्री सेल्सियस बढेको अनुमान गरे । ऐतिहासिक तथ्याङ्कसँग तुलना गर्दा सो अवधिमा करिब २४ हजार चार सय अतिरिक्त मृत्यु भएको प्रक्षेपण गरियो । त्यसमध्ये करिब ७० प्रतिशत अर्थात् १६ हजार पाँच सय मृत्यु प्रत्यक्ष तापक्रम वृद्धिकै कारण भएको ‘द्रुत एट्रिब्युसन’ अध्ययनले देखायो । यसको अर्थ जलवायु परिवर्तनले गर्मीसम्बन्धी मृत्युदर तीन गुणा बनाएको हुन सक्छ । यो अध्ययन ‘इम्पेरियल कलेज लन्डन’ र ‘लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन’ का विज्ञहरूले संयुक्त रूपमा गरेका हुन् ।

सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसङ्ख्या वृद्धिले ल्याएको नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकले औँल्याउँदै आएका छन् । मूलतः जीवाश्म इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनाश भई त्यस्तो ग्यास अवशोषणमा आउने कमीले भूमण्डलीय तापक्रम बढेको हो । कोइला, खनिज तेल र ग्यास जस्ता वस्तुको बढ्दो दोहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्छ । जङ्गल फडानी र भूक्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधिका गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन् । 

पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा असन्तुलन भएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । 

पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइ जस्ता हरित गृह ग्यास र ओजन तह विनाश गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरण वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । उच्च गर्मीले साना बालबालिका, वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य अवस्था भएका र गर्भवती महिलालाई खतरामा पारिरहेको छ । गर्भावस्थाको समयमा, हार्मोनल परिवर्तन हुने र अत्यधिक गर्मीले आमा र उनको गर्भमा रहेको बच्चा दुवैलाई गम्भीर प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा आमामा उच्च रक्तचापको समस्यादेखि गर्भको शिशुको मृत्युसम्मका घटना बढ्न सक्छन् । 

युरोपले, जसरी तापक्रम वृद्धिको मारा भोगिरहेको छ नेपाल पनि यसबाट अछुतो छैन । नेपालको हिमाली क्षेत्र उच्च जोखिममा रहेका छन् । नेपालको हिमाली सभ्यता नै नष्ट हुने खतरा बढिरहेको छ । तापमान वृद्धिले हिमाली क्षेत्र अस्तव्यस्त छ । त्यहाँको सामाजिक अवस्था अति कष्टकर बन्दै गएको छ, हिमनदीजन्य घटनामा वृद्धि भएको छ । खाद्यान्नबालीको उत्पादन व्यापक घटिरहहेको छ । ठुला, साना सबै हिमताल उच्च जोखिममा परेका छन् । सन् २००० को दशकमा हिमनदीजन्य घटना हिन्दुकुश–हिमालय क्षेत्रमा ५ देखि १० वर्षमा एक पटक हुने प्रक्षेपण गरिए पनि पछिल्लो समय बढ्दै गएको छ । सन् २०२५ को मे र जुन दुई महिना मात्रै नेपालको हुम्लास्थित लिमि, अफगानिस्तानको एन्डोराब उपत्यका र पाकिस्तानको चित्राल÷हुनजामा हिमनदीजन्य बाढी आयो । यो निकै खतराको सूचक हो र यसको गम्भीर अनुसन्धान हुनु आवश्यक छ । यसका लागि दान–अनुदान पर्खनुको साटो आफ्नै स्रोतसाधनबाट गहन अनुसन्धान अपरिहार्य छ । छोटो अवधिमा उच्च तापमान वृद्धिका कारण बरफ खसाल्ने, हिमतालको प्राकृतिक बाँध (मोरेन) भत्कने, पर्माफ्रोस्ट (हिमोढ) भत्कने, उच्च हिमाली क्षेत्रमा चट्टान खस्ने, जमिन भासिने घटना निम्तिइरहेको छ । हालका घटनामा बाढीले गिट्टी, बालुवा, माटो र ठुला ढुङ्गा बोकेको देखिन्छ र जसले पानी मात्र भएको बाढीको तुलनामा धेरै क्षति पु¥याउँछ । हिमाली क्षेत्रमा हिउँको सट्टा वर्षा बढी हुँदा यस्ता घटना बढ्ने विज्ञहरूको निष्कर्ष छ । 

विश्वव्यापी तापक्रम निरन्तर बढ्दै जाँदा हिमतालमा सञ्चित हिउँ क्रमशः पग्लने र हिमपात कम हुने तथा हिमताल विस्फोट जस्ता विपत्का सम्भावना बढ्दै गएको छ । तापव्रmम वृद्धिले हिमालको स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ । तापक्रम बढ्दा हिमालको हिउँ पग्लने खतरा उच्च हुन्छ, हिमताल विस्फोट भएर धनजनको क्षति गर्ने खतरा उत्तिकै बढिरहेको छ ।  हुन त नेपालले हिमाल जोगाउन अनेक प्रयास गरिरहेको छ । ‘सगरमाथा संवाद’, ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ यसका उदाहरण हुन् तर पर्याप्त छैन । 

नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा पर्ने हिमताल विस्फोट हुँदा पनि नेपाललाई समेत असर पर्ने विज्ञहरूको भनाइ छ । सन् २०२१ को फेब्रुअरीमा भारतको उत्तराखण्डमा पनि हिमताल विस्फोटको घटना भएको थियो । उत्तराखण्डको चमोली जिल्लास्थित नन्दादेवी हिमनदी क्षेत्रमा भएको उक्त हिमताल विस्फोटले धौलीगङ्गा नदीमा ठुलो भेलबाढी निम्त्यायो । यस भेलबाढीमा करिब दुई सय मानिस बेपत्ता भए, जसमध्ये २६ जनाको मृत्यु भएको अभिलेख भेटिन्छ । उक्त विपत्ले ऋषिगङ्गा र धौलीगङ्गा जलविद्युत् आयोजना दुवैमा ठुलो क्षति पु¥याएको थियो । यसअघि सन् २०१३ को जुन महिनामा उत्तराखण्डको केदारनाथ क्षेत्रमा आएको भेलबाढी पनि हिमताल विस्फोटसँग जोडेर व्याख्या गरिन्छ । गान्धी सरोवर (हिमताल) मा अत्यधिक वर्षा र हिमनदी पग्लनु उक्त विपत्को कारण भएको भारतीय सञ्चार माध्यमले जनाएका थिए ।

सन् २०२३ को अक्टोबरमा सिक्किमको साउथ ल्होन्जक हिमताल फुट्दा टिस्टा नदीमा ठुलो बाढी आएको थियो । यस घटनाले टिस्टा नदी किनारका बस्ती, सडक र जलविद्युत् आयोजना सबैमा ठुलो क्षति पु¥यायो । यो हिमताल विस्फोट जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमनदी पग्लने प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ ।

जोखिममा हिमताल

‘अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र’ (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एन्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एन्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा रहेका ४७ वटा हिमताल फुट्न सक्ने जोखिम रहेको देखाएको छ । 

उक्त अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको छ । यी हिमताल जति बेलामा पनि फुट्न सक्ने र नेपालले ठुलो धनजनको क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अध्ययन अनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ । गत असारमा मात्रै रसुवा र माथिल्लो मुस्ताङमा नेपालमा मात्र दुई वटा बाढी आएको थियो । 

अध्ययनले २१ औँ शताब्दीको अन्त्यसम्ममा हिमनदी विस्फोटको जोखिम तीन गुणा बढ्ने अनुमान गरेको छ । नेपालमा यसको प्रत्यक्ष सङ्केत आइसकेको भए पनि पूर्वसूचना प्रणालीको विकास न्यून छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म इम्जा र छो–रोल्पाबाहेक अरू साना तालमा पूर्वसूचना प्रणाली विकास गरिएकै छैन । तापक्रम वृद्धिको गति रोक्न अपनाउनुपर्ने परम्परागतदेखि आधुनिक विधिको उपयोगलाई अब अभियानकै रूपमा अघि बढाउनु अत्यावश्यक भइसकेको छ

जसरी तापक्रम वृद्धि भइरहेको छ यसले सिङ्गो पृथ्वीको भविष्यसँगै मानव सभ्यतामाथि नै चुनौती थपिरहेको छ । अन्दाज नै गर्न नसकिने गरी बढिरहेको तापक्रमको गति कति डरलाग्दो छ भन्ने उदाहरण त विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको समेत अध्यायनले देखाएको छ । 

त्यसै गरी इसिमोडको अध्ययन अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । समथर भूभागको तुलनामा हिमाली क्षेत्रमा तापव्रmम वृद्धि बढी छ । यसका अनेक कारणमध्ये पर्वतारोहणका क्रममा आरोहीले छाड्ले फोहर पनि एक हो । यसै कारण हिमाली क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । यी समस्यालाई अझै पनि विश्वको साझा मुद्दा बनाउन सकिएको छैन । कोप–३० पनि औपचारिकतामा सीमित रह्यो । परिणामतः युरोप–अमेरिकादेखि नेपालसम्मै जलवायु परिवर्तन ‘मौन हत्यारा’ बन्दै गएको छ । यसलाई न्यून गर्न सिङ्गो विश्व एक हुनुको विकल्प छैन ।