• १९ फागुन २०८२, मङ्गलबार

ब्रोकर कम्पनीमा ‘आइटी अडिट’ अनिवार्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १९ गते । बढ्दो साइबर जोखिम नियन्त्रण गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आइटी) अडिट व्यवस्था लागु गरेको छ । ‘आइटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै नेप्सेले ट्रेडिङ सिस्टमदेखि ग्राहक डाटा व्यवस्थापन, सर्भर, नेटवर्क सुरक्षा र मोबाइल एपसम्मका सम्पूर्ण डिजिटल पूर्वाधारको नियमित परीक्षण गर्नुपर्ने प्रावधान लागु गरेको हो । नयाँ व्यवस्था अनुसार प्रत्येक ब्रोकरले दुई वर्षमा कम्तीमा एक पटक आइटी अडिट गराउनुपर्ने छ । नयाँ ब्रोकरले भने कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्ने छ ।

नेप्सेले ट्रेडिङ सिस्टम, सर्भर, नेटवर्क सुरक्षा, ग्राहक डाटा व्यवस्थापनलगायत सम्पूर्ण डिजिटल संरचनाको नियमित परीक्षण गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको हो । नयाँ व्यवस्थाले साइबर जोखिम न्यूनीकरण गर्दै लगानीकर्ताको विवरण सुरक्षित राख्ने लक्ष्य लिइएको छ । नेप्सेका अनुसार अनलाइन कारोबारको दायरा विस्तार भएसँगै साइबर आक्रमण, डाटा चुहावट, सिस्टम ह्याकिङ तथा सेवा अवरुद्ध हुने जोखिम बढ्दै गएकाले यस्तो व्यवस्था अनिवार्य गरिएको हो ।

नयाँ व्यवस्थासँगै अब ब्रोकर कम्पनीले तोकिएको समयावधिमा मान्यताप्राप्त सूचना प्रविधि विज्ञ वा अडिट फर्ममार्फत आफ्ना प्रणालीको परीक्षण गराई प्रतिवेदन नेप्सेसमक्ष पेस गर्नुपर्ने छ । मापदण्ड अनुसार ट्रेडिङ प्लेटफर्मको सुरक्षा संरचना, प्रयोगकर्ताको प्रमाणीकरण प्रणाली, डाटा ब्याकअप तथा रिकभरी योजना, फायरवाल र इन्क्रिप्सन व्यवस्थाको परीक्षण अनिवार्य हुने छ । साथै ग्राहकको व्यक्तिगत तथा वित्तीय विवरण सुरक्षित राख्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको साइबर सुरक्षा नीति अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेप्सेले निर्देशिका उल्लङ्घन गर्ने ब्रोकरमाथि कारबाहीको व्यवस्थासमेत गरेको जनाएको छ । नयाँ व्यवस्थाले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, डिजिटल कारोबार प्रणाली सुरक्षित बनाउने तथा समग्र पुँजी बजारको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ । निर्देशिका अनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डाटा व्यवस्थापन प्रणाली, सर्भर, डाटाबेस, नेटवर्क पूर्वाधार, वेबसाइट तथा मोबाइल एपलगायत सम्पूर्ण डिजिटल संरचना अडिटको दायरामा पर्ने छन् ।