घोराही/नेपालगन्ज समाचारदाता
घोराही/नेपालगन्ज, फागुन १९ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ र बाँकेमा मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी खटिन सुरु गरेका छन् । निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेर कर्मचारी सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेका हुन् ।
दाङमा मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार निर्वाचन अधिकृतको कार्यालय र प्रदेश निर्वाचन कार्यालयबाट मतपत्र तथा अन्य आवश्यक सामग्री बुझेर कर्मचारी र सुरक्षाकर्मीसँगसँगै मतदान केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा पुगेपछि कर्मचारीले स्थल सरसफाइ, राजनीतिक दलसँग समन्वय बैठक, मतदान केन्द्र निर्माण, मतदान स्थल सिल गर्ने, मदिरा निषेधित तथा होहल्ला निषेधित क्षेत्र घोषणा गर्नेलगायतका तयारीका काम गर्ने छन् ।
दाङका तीन निर्वाचन क्षेत्रमा रहेका ४८२ मतदान केन्द्रमा दुई हजार ८९८ कर्मचारी खटिएका छन् । तीमध्ये ४८२ मतदान केन्द्रमा दुई हजार ८९२ र दुई अस्थायी मतदान केन्द्रमा छ जना कर्मचारी रहने छन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा पाँच हजार ५११ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना समावेश छन् । जिल्लामा १५९ मतदान स्थल अन्तर्गत ४८२ मतदान केन्द्र छन् । तीमध्ये १६ वटा अति संवेदनशील, १३४ वटा संवेदनशील र नौ वटा सामान्य श्रेणीमा वर्गीकरण गरी सुरक्षाव्यवस्था मिलाइएको छ ।
त्यसै गरी बाँकेमा पनि मतदान केन्द्रमा खटिएका कर्मचारीले सोमबार निर्वाचन सामग्री बुझेका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार ४०३ मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्ज तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री वितरण गरी मतदान केन्द्रतर्फ पठाइएको हो । सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले कर्मचारीलाई यसअघि नै तालिम तथा नियुक्तिपत्र वितरण गरिएको जनाउँदै अब उनीहरूले फागुन १९ र २० गते मतदान केन्द्रमा पुगेर सम्पूर्ण तयारी पूरा गर्ने जानकारी दिनुभयो ।
बाँके जिल्लामा तीन निर्वाचन क्षेत्र अन्तर्गत १३९ मतदान स्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । जसमध्ये एक लाख ७२ हजार २२३ महिला, एक लाख ७८ हजार ३३९ पुरुष र नौ जना अन्य मतदाता रहेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा दुवै जिल्लामा आवश्यक तयारी तीव्र पारिएको र शान्त, मर्यादित तथा भयरहित वातावरणमा मतदान सम्पन्न गर्ने तयारी गरिएको सम्बन्धित कार्यालयले जनाएका छन् ।