साहारा लिम्बू
फुङलिङ, फागुन १९ गते । ताप्लेजुङमा निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राखिने भएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति ताप्लेजुङले निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राख्ने निर्णय गरेको हो ।
पालिकामा रहेका एम्बुलेन्सहरुलाई कुनै समस्याका बेला उद्धार गर्न सकिने गरी तयारी हालतमा राख्ने निर्णय भएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम फुङलिङसहित जिल्लाभरमा १९ वटा एम्बुलेन्स तयारी हालतमा राखिने छन् ।
आवश्यकता परेको खण्डमा एम्बुलेन्स रहेको स्थानबाट नजिकमा क्षेत्रमा परिचालित हुनेगरि तयारी हालतमा राखिएको सेढाइँले बताउनुभयो । उहाँका अनुसार सदरमुकाम फुङलिङ क्षेत्रमा ८ वटा एम्बुलेन्स तयारी हालतमा राखिने छ ।
फुङलिङमा रहेका एम्बुलेन्सले आवश्यकता परेको खण्डमा नगर क्षेत्रका ११ वटा वडालाई कभर गर्नेछन् । यस्तै, मेरिङदेन गाउँपालिकामा एक, पाथीभरा याङवरकमा एक, आठराई त्रिवेणीमा एक र सिरिजङ्गामा एक थान एम्बुलेन्स तयारी हालतमा राखिने छ । फक्ताङलुङ, मैवाखोला, सिदिङ्वा र मिक्वाखोला गाउँपालिकामा दुई–दुई थान एम्बुलेन्स तयारी हालतमा राखिने प्रजिअ सेढाइँले जानकारी दिनुभयो ।
निर्वाचनको समयमा खटिएका कर्मचारी र मतदातासहितका निर्वाचनमा सरोकार राख्ने पक्षलाई स्वास्थ्य सहितका समस्या देखा परी एम्बुलेन्स चाहिने अवस्थामा नजिकमा रहेका एम्बुलेन्समार्फत उद्धार गर्नेगरी तयारी हालतमा राख्ने निर्णय भएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले जनाएको छ ।