जाजरकोट, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोट जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छ। जिल्लाका सात स्थानीय तहअन्तर्गत रहेका ८८ मतदान स्थलका १४७ मतदान केन्द्रमा तोकिएका कर्मचारी खटाइएको हो।
निर्वाचनमा आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीसहित सुरक्षाकर्मी, मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री र तोकिएका कर्मचारी सुरक्षाकर्मीको नेतृत्वमा सम्बन्धित स्थानमा पुगेको जानकारी दिनुभयो। सुरक्षाको पूर्ण व्यवस्था मिलाएर फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको उहाँको भनाइ छ।
जिल्लामा रहेका १४७ मतदान केन्द्रमध्ये १६ वटा अति संवेदनशील, ५७ वटा संवेदनशील र १५ वटा मतदान केन्द्र सामान्य रूपमा वर्गीकरण गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन ४३६ स्वयंसेवक र ८७९ कर्मचारी खटिएका छन्। सुरक्षातर्फ नेपाल प्रहरी ५२८, नेपाल प्रहरीतर्फका निर्वाचन प्रहरी ४८६, सशस्त्र प्रहरी १८९, सशस्त्र प्रहरीतर्फका निर्वाचन प्रहरी ९६ र ६ सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। सबै मतदान केन्द्रमा सुरक्षा निकाय परिचालन भइसकेको छ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्य लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो।