काठमाडौँ, फागुन १९ गते । रङहरूको पर्व फागु अर्थात् होली काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लाससाथ मनाइएको छ । आपसी मेलमिलाप र सद्भावसाथ मनाइने होली वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि रङमा रमाउँदै हर्षोल्लाससाथ मनाएका छन् ।
काठमाडौँको ठमेल, दरबारमार्ग, पाटनको दरबार स्क्वायर, वसन्तपुरलगायतका पर्यटकीय स्थलमा अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, फ्रान्स, इटाली, दक्षिण कोरियालगायतका मुलुकबाट आएका विदेशी पर्यटकले सेतो टी–सर्ट लगाएर नाचगानसँगै रमाइलो गरी रङ्गसँग झुमेर होली मनाए । अमेरिकाको कान्सस राज्यबाट नेपाल भ्रमणका क्रममा वसन्तपुरको होलीमा सहभागी हुनुभएका रायन हलले नेपालको बसाइ लम्ब्यार होली पर्वको अनुभव लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको प्राकृतिक सुन्दरता देखेर नअघाएको म यहाँको धार्मिक, आध्यात्मिक आस्था र सांस्कृतिक पर्वको हर्षाेल्लास देखेर आनन्दित भएको छु ।”
नेपाल बसाइ क्रममा यहाँको आतिथ्यता, कला संस्कृति, प्राकृतिक सुन्दरता, हिमाल देखेर निकै आनन्दको अनुभूति भएको जनाउँदै उहाँले यहाँको स्थानीय खानाका परिकारका स्वाद र हिमालका अनुपम दृश्यलाई शब्दमा बयान गर्न नसकिने बताउनुभयो ।
त्यस्तै फ्रान्सबाट नेपाल घुम्न आउनुभएकी हेडी पिकार्डले आफ्नो चार जनाको समूहले दिनभर ठमेल, दमरबारमार्ग, वसन्तपुर दरबार क्षेत्रको होली पर्वमा सहभागी भएर आनन्द लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका युवासँगै दिनभर होलीको उल्लासमा सहभागी हुने अवसर पाएर निकै उत्साहित भएका छौँ ।
यहाँ को–कहाँबाट आएको हो भनेर कसैले सोधेनन् । सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए । मलाई यहाँको संस्कृतिले निकै मोहित बनायो । नेपाल निकै मन प¥यो ।”
त्यस्तै चीनको सिचुवान प्रान्तबाट नेपाल भ्रमणमा आउनुभएका सी जोङ्होङ (फ्रल्याइङ बर्ड) ले दिनभर मन अघाउन्जेल होलीमा रमाएको बताउनुभयो । आजको दिन जीवनभर यादगार रहने उहाँले जनाउनुभयो । चार महिनापहिले इटालीबाट नेपाल आउनुभएका डेनियलले पनि रङसँग खेल्दा रमाइलो अनुभूति भएको प्रतिक्रिया दिनुभयो । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार सन् २०२६ को फेब्रुअरीमा मात्रै एक लाख १५ हजार ४४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक लाख सात हजार ४६९ विदेशी पर्यटक बाहिरिएका छन् । नेपाल भित्रिएकाको सङ्ख्या गत वर्षको भन्दा २४ प्रतिशत बढी हो । गत वर्षको फेब्रुअरीमा ९६ हजार ८८० र सन् २०२४ को फेब्रुअरीमा ९३ हजार ४५५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२६ को जनवरीमा विभिन्न देशबाट ९२ हजार ५७३ जना पर्यटक नेपाल घुम्न आएका थिए । उक्त सङ्ख्या सन् २०२५ को जनवरीको तुलनामा झन्डै १६ प्रतिशतले बढी हो ।
शान्तिपूर्ण बन्यो होली
काठमाडौँ उपत्यकालगायत देशभरका पहाडी र हिमाली जिल्लामा सोमबार शान्तिपूर्ण तथा हर्षोल्लाससाथ होली मनाइयो । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा होली परेकाले स्थानीय प्रशासनले होली विशेष कार्यक्रम नगर्न, साङ्गीतिक कार्यक्रम नगर्न, मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवन नगर्न आग्रह गरेको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार उपत्यकालगायत पहाडी र हिमाली क्षेत्रमा होली शान्तिपूर्ण रूपमा मनाइएको छ । होली खेल्ने क्रममा कुनै पनि उच्छृङ्खल तथा अराजक गतिविधि नभएका कारण प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
विगतमा होली मनाउँदा दर्जनौँ व्यक्ति पक्राउ पर्थे । राजनीतिक पार्टीका गतिविधि बढ्दो क्रममा रहेकाले विगतमा जस्तो काठमाडौँ उपत्यका र विशेष गरी वसन्तपुर परिसरबाहेक अन्य ठाउँमा त्यति ठुलो उपस्थिति भने देखिएन । प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो, “निर्वाचन सुरक्षालाई असर नपरोस् भन्ने उद्देश्यले होली पर्वको मौलिकता अनुसार हामीले शान्तिपूर्ण रूपमा मनाउन अपिल गरेका थियौँ । सोही अनुसारै यसपालिको होली शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भयो ।”