काठमाडौँ, पुस २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा लिने यात्रुको सङ्ख्या दिन दुई गुणा, रात चार गुणाका दरले बढ्दै गएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) ८० लाख यात्रु हो । सन् २०२० देखि सन् २०२५ सम्मको अवधिमा बढेका हवाई यात्रुको चाप प्रत्येक वर्ष बढिरहेको छ । सन् २०२४ मा यो विमानस्थलबाट करिब ६५ लाख यात्रुले यात्रा गरेका छन् । यात्रु सङ्ख्या वृद्धि हुँदै जाँदा सहज यात्रा, उडान सुनिश्चितता र उडान अवधिमा समेत असर पुग्दै आएको छ ।
प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले भन्नुभयो, “हाल यस विमानस्थलले क्षमताभन्दा बढी यात्रुलाई हवाई सेवा दिँदै आएको छ । बर्सेनि बढ्दै गएको यात्रु र उडान ओहोरदोहोरलाई ध्यानमा राखी प्राधिकरणले विमानस्थलको क्षमता, हवाई पूर्वाधार विकास, उड्डयन सुरक्षालगायत हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गतका काम गरिरहेको छ ।”
विमानस्थलमा बढ्दो हवाई आवागनसँगै समानान्तर ट्याक्सीवे, एप्रोन निर्माण, पार्किङ र एयरलाइन्सको ह्याङ्गर क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल स्तरोन्नतिपछि एयर ट्राफिक कन्ट्रोल सहज र हवाई सुरक्षामा अभिवृद्धि हुने उहाँले बताउनुभयो । प्राधिकरणका अनुसार सन् २०२० मा अन्तर्राष्ट्रियतर्फ ११ लाख ५८ हजार ५८ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२४ सम्म उक्त सङ्ख्या बढेर ४९ लाख ६३ हजार ४६६ पुगेको छ ।
यस विमानस्थलबाट सन् २०२१ मा १४ लाख ५६ हजार ९२९, सन् २०२२ मा २२ लाख २३ हजार ३३३ र सन् २०२३ मा ४३ लाख २९ हजार चार सय यात्रुले उडान भरेका थिए । त्यस्तै गरी सन् २०२५ को ११ महिनामा ४० लाख ९८ हजार ८७७ यात्रुले विमानस्थलको प्रयोग गरेका छन् ।
आन्तरिक उडानमा प्रतिस्पर्धा
प्राधिकरणका अनुसार पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडानतर्फ पनि यात्रु चाप धान्न विमानस्थललाई गाह्रो भइरहेको छ । आन्तरिकतर्फ सन् २०२० मा १४ लाख पाँच हजार ७७७ जनाले उडान सेवा लिएकामा उक्त सङ्ख्या बढेर सन् २०२४ मा ४५ लाख १९ हजार ३२२ पुगेको छ । आन्तरिकतर्फ सन् २०२१ मा ३५ लाख ७६ हजार ९४२, सन् २०२२ मा ४९ लाख १३ हजार ३५७ र सन् २०२३ मा ४३ लाख २५ हजार ५६ जनाले हवाई सेवा लिएका थिए ।
सन् २०२५ को ११ महिनामा आन्तरिकतर्फ ३७ लाख १८ हजार आठ सय यात्रुले विमानस्थलको प्रयोग गरेका छन् ।
उडान सङ्ख्यामा छलाङ
देश विदेशको यात्रा गर्ने यात्रु बढेसँगै पछिल्ला पाँच वर्षमा उडान अवतरण सङ्ख्यासमेत तीन गुणाभन्दा बढीले बढेको छ । अन्तर्राष्ट्रियतर्फ सन् २०२० मा १० हजार २५६ उडान अवतरण भएको यस विमानस्थलमा सन् २०२४ मा ३३ हजार २४७ उडान अवतरण भएका छन् । त्यसअघि सन् २०२१ मा ११ हजार ७६०, सन् २०२२ मा १६ हजार ८७९ र सन् २०२३ मा ३१ हजार ४६० उडान अवरण भएका थिए ।
त्यस्तै गरी आन्तरिकतर्फ सन् २०२० मा ३८ हजार ५९८ उडान अवतरण भएको यस विमानस्थलमा सन् २०२४ मा उक्त सङ्ख्या बढेर एक लाख दुई हजार ७२९ पुगेको छ । प्राधिकरणका अनुसार सन् २०२१ मा ८१ हजार १७२, सन् २०२२ मा ७८ हजार ३४७, सन् २०२३ मा ९६ हजार ९८९ उडान अवतरण भएका थिए ।
भैरहवामा सीमित उडान
काठमाडौँमा उडान र यात्रुको चाप धान्न नसक्ने अवस्था हुँदासमेत मुलुकको दुई वटा विमानस्थल प्रयोगविहीन जस्तै बनेका छन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित मात्रै उडान अवतरण भएका छन् भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान हुन सकेको छैन ।
भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रितर्फ सन् २०२३ मा दुई हजार ३१५ र सन् २०२४ मा नौ हजार २०२ यात्रुले मात्रै हवाई सेवा लिएका छन् । त्यहाँ सन् २०२३ मा ६९ र सन् २०२४ मा २९५ उडान अवतरण भएका छन् । सन् २०२५ को ११ महिनामा भएका २२१ उडान अवतरणबाट १३ हजार ४३२ यात्रुले भैरहवा विमानस्थल प्रयोग गरेको प्राधिकरणले जनाएको छ ।