• २४ वैशाख २०८३, बिहिबार

जुम्लामा घरदैलोमै राहदानी वितरण सुरु

blog

समझदारी पत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी दीपक पौडेल । तस्बिर : नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), वैशाख २४ गते । जुम्लामा घरदैलोमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ ।

नयाँ सरकारका शासकीय सुधारका सय कार्यसूची अन्तर्गत जुम्लाका नागरिकलाई घरदैलोमै राहदानी वितरण सुरु गरिएको हो।

घरदैलोमै राहदानी पुराउने विषयमा बुधबार जिल्ला प्रशासन जुम्ला र जिल्ला हुलाक कार्यालय जिल्लाबीच दुई पक्षीय समझदारी समेत भएको छ ।

उक्त समझदारी अनुसार हुलाक कार्यालयका एक कर्मचारी जिल्ला प्रशासनमा बस्ने छन् ।प्राप्त भएका राहदानी प्रशासनले हुलाकको जिम्मा लगाउने र हुलाकका कर्मचारी सम्बन्धित नागरिकका घरघरमा पुगेर राहदानी वितरण गर्ने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।

 सरकारका शासकीय सुधारका सय कार्यसूची अन्तर्गत सेवा प्रवाहलाई नागरिक मैत्री बनाउने, छिटो छरितो बनाउने अभियान अन्तर्गत विभिन्न सुधारका काम गरि रहेका छौ । प्रजिअ पौडेलले अब जिल्लाका आठै स्थानीय तहका घरघरमा पुगेर हुलाकका कर्मचारी राहदानी दिने बताउनुभयो । 

सम्बन्धित लाभग्राहीले राहदानी बुझे बापत ५५ रुपियाँ बुझाउनु पर्ने छ । भने लाभग्राहीको तीन पुस्ते विवरण बुझेर मात्र उपलब्ध गराइने छ । राहदानी लिनका लागि सदरमुकाम आउनु पर्ने, आउजाउमा रुपियाँ खर्चिनु पर्ने बाध्यता झेल्दै आएका स्थानीयले घरमै राहदानी पाउने भएपछि राहत महसुस गर्ने छन् । 

जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख गणेशदत्त रावलले प्रशासनबाट प्राप्त भएका राजधानीहरू हुलाकका कर्मचारी (हल्कारा)मार्फत तीन दिनभित्र सम्बन्धित सम्बन्धित सेवा ग्राहीको घरमै पुराउने वातावरण बनाइएको बताउनुभयो ।