सुजल श्रेष्ठ
प्यूठान, वैशाख २४ गते । गौमुखी गाउँपालिका–६ मा चालु आर्थिक वर्षमा ४४ जना महिला सुत्केरी भएका छन् । जसमध्ये २७ जनाले लिवाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएका छन् भने १४ जनालाई थप उपचारका लागि जिल्लामा रेफर गरिएको थियो । त्यस्तै ३ जना महिलाले अन्य स्वास्थ्य संस्थामा गई प्रसूति सेवा लिएका हुन् ।
गत वर्ष नै पूर्ण स्वास्थ्य संस्थामा प्रसूति भएको वडा घोषणा गरिएको उक्त वडालाई यस वर्ष पनि सोही सुनिश्चितता घोषणा गरिएको वडाध्यक्ष चन्द्रबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार पूर्ण खोप र पूर्ण स्वास्थ्य संस्थामा प्रसूति भएको वडा सुनिश्चितता, प्रमाणीकरण तथा दिगोपन घोषणा गरिएको हो ।
लिवाङ स्वास्थ्य चौकी प्रमुख सावित्रा खड्काले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीले घरघरमा पुगेर तथ्याङ्क सङ्कलन गरी सुनिश्चितता कायम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकालाई समेत छुटेका मात्रा खोप प्रदान गरिएको छ ।
२०८२ जेठ ३१ गते गौमुखी गाउँपालिकालाई पूर्ण स्वास्थ्य संस्थामा प्रसूति भएको पालिका घोषणा गरिएको हो । आर्थिक वर्ष २०७९र८० मा पालिकाको वडा नं. ५ र ७ लाई पहिलो पटक पूर्ण स्वास्थ्य संस्थामा प्रसूति भएको वडा घोषणा गरी अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैशीले बताउनुभयो । त्यसपछि क्रमशः सबै वडालाई पूर्ण स्वास्थ्य संस्थामा प्रसूति भएको वडा घोषणा गर्दै पालिका स्तरमै सुनिश्चितता गरिएको उहाँले जानकारी दिनुभयो ।
मातृ तथा शिशु मृत्युदर घटाउन गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच, स्वास्थ्य संस्थामै सुत्केरी सेवा र प्रसूति पश्चात् जाँचमा जोड दिइएको स्वास्थ्य शाखा प्रमुख जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा एक लाख आमाले बच्चा जन्माउँदा १५१ आमाको ज्यान जाने गरेको तथ्याङ्क छ । त्यस्तै, प्रति एक हजार पाँच वर्षमुनिका बालबालिकामध्ये ३२ जनाको मृत्यु हुने गरेको छ भने प्रति हजारमा २४ जना नवजात शिशुको मृत्यु हुने गरेको छ ।”
उहाँका अनुसार पूर्ण खोप र पूर्ण स्वास्थ्य संस्थामा प्रसूति अभियानले यी मृत्युदर घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।