• २४ वैशाख २०८३, बिहिबार

अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, फिर्ता सुरु

blog

वासिङ्टन, वैशाख २४ गते । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीले अमेरिकामा करिब दुई लाख १८ हजार ८६८ सवारी फिर्ता बोलाउने घोषणा गरेको छ । सवारीको पछाडिको दृश्य देखाउने क्यामेरामा समस्या देखिएपछि कम्पनीले यस्तो निर्णय गरेको हो ।

अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार प्रभावित सवारीमा पछाडिको दृश्य देखाउने पर्दा गाडी पछाडि चलाउन राख्दा ढिलो सक्रिय हुन सक्छ । यसले चालकलाई पछाडिको अवस्था तुरुन्त देख्न नदिने भएकाले दुर्घटनाको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ ।

नियामक निकायका अनुसार समस्या विशेष गरी सवारीलाई पछाडि चलाउने क्रममा देखा पर्न सक्छ । चालकले तत्काल स्पष्ट दृश्य नपाउँदा दुर्घटना हुन सक्ने सम्भावना रहने बताइएको छ । फिर्ता प्रक्रियामा कम्पनीका विभिन्न लोकप्रिय मोडेल समावेश छन् । तीमध्ये मध्यम आकारका विद्युतीय सवारी, बहुउपयोगी सवारी, विलासी सवारी तथा विलासी बहुउपयोगी सवारी रहेका छन् ।

कम्पनीले समस्या समाधानका लागि इन्टरनेटमार्फत स्वचालित सफ्टवेयर अद्यावधिक जारी गरिसकेको जनाएको छ । यस अद्यावधिकपछि क्यामेरा प्रणालीको ढिलाइ हट्ने र सवारी सुरक्षितरूपमा सञ्चालन गर्न सकिने विश्वास गरिएको छ । नियामक निकायले प्रभावित सवारी धनीलाई कम्पनीबाट आउने सूचनामा ध्यान दिन र आवश्यक सफ्टवेयर अद्यावधिक तुरुन्त गर्न आग्रह गरेको छ ।

हालसम्म यस समस्याका कारण ठुला दुर्घटना वा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । तर सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै कम्पनीले पूर्वसावधानी स्वरूप फिर्ता प्रक्रिया सुरु गरेको जनाएको छ । रासस/सिन्ह्वा