• २४ वैशाख २०८३, बिहिबार

३० जना किशोरीलाई आत्मरक्षा तालिम

blog

त्रिभुवन माविका किशोरीलाई आत्मरक्षा तालिम दिइँदै । तस्विरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), वैशाख २४ गते । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरेको छ । गुल्मीको मुसिकोट नगरपालिका–४, कुर्घाको त्रिभुवन माद्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने ३० जना किशोरीलाई तालिम प्रदान गरिएको छ । 

किशोरीलाई ४५ दिने आत्मरक्षा र मानसिक स्वास्थ्य बनाउने विभिन्न १० वटा विधि सिकाइएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले बताउनुभयो । प्रशिक्षक–विनोद नेपाली र सहायक प्रशिक्षक–कृष्ण रानाले किशोरीलाई आपतकालीन अवस्थामा प्रतिरक्षा गर्ने तरिका बारेमा अभ्यास गराउनु भएको थियो ।

प्रदेश सरकारको उद्देश्य किशोरीहरुको क्षमता विकास र आत्मरक्षा सम्बन्धी कौशल सिकाइ रहेको डिभिजन कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । तालिमपछि किशोरीलाई प्रमाणपत्र प्रदान गर्दै मुसिकोट नगरपालिका उपप्रमुख गङ्गा श्रेष्ठले किशोरीहरू हरेक हिसाबले जोखिममा रहेकाले प्रतिरक्षा सिपले उनीहरूलाई अब्बल बनाउने बताउनुभयो । 

श्रेष्ठले जिल्लाभरका विद्यालयमध्ये मुसिकोटलाई सम्झेर कार्यक्रम समावेश गर्ने सामाजिक विकास डिभिजन कार्यालयलाई आभार प्रकट गर्नुभयो । यो तालिमले किशोरीको आत्मरक्षा गर्ने क्षमता बढ्छ । किशोरीहरूले आफूमाथि हुने हिंसा, दुव्र्यवहार वा जोखिमपूर्ण अवस्थाबाट जोगिनका लागि आवश्यक सिप सिक्ने भएकाले आत्मविश्वास वृद्धि हुने र तालीमले ‘म आफैँलाई जोगाउन सक्छु’ भन्ने भावना विकास हुने प्रशिक्षक विनोद नेपालीले बताउनुभयो । 

आपतकालीन अवस्थामा कसरी शान्त रहने र प्रतिक्रिया दिने भन्ने बिषयमा व्यायाम, अभ्यास तथा तालिमका कारण शरीर तन्दुरुस्त हुने नेपालीले जानकारी दिनुभयो । कुन परिस्थिति जोखिमपूर्ण हुन सक्छ भन्ने पहिचान गर्न त्यसबाट बच्ने उपायहरू थाहा पाउने, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने र आफ्नो अधिकार, सुरक्षा तथा कानुनी जानकारी समेत तालिममा प्रदान गरिएको छ ।