गजेन्द्र गुरुङ
खजुरा, वैशाख २४ गते । भिसामा समस्याका कारण बाँकेको कोहलपुरमा जारी कोहलपुर गोल्डकप सेमिफाइनल खेलबाट जस्ट जोन फुटबल क्लब नाइजेरिया बाहिरिएको छ ।
आयोजकका अनुसार नाइजेरियाका खेलाडीको भिसामा सम्बन्धी समस्या देखिएका कारण खेल प्रतियोगिताबाट बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजकलाई कोहलपुर गोल्डकप प्रतियोगितामा पर्यटक भिसामा रहेका कतिपय विदेशी नागरिकहरू सहभागी रहेको भन्ने गुनासो प्राप्त भएको भन्दै पर्यटक भिसामा रहेका विदेशी नागरिकलाई अध्यागमन कानुनसम्बन्धी आवश्यक प्रक्रिया पूरा नगरी प्रतियोगितामा सहभागी नगराउन र गराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको थियो ।
तालिका अनुसार आज दिउँसो ४:३० बजे हुने सेमिफाइनलको दोस्रो खेलमा नाइजेरिया र पुलिस क्लबबिच खेल हुने तय थियो । समूह चरणको दोस्रो खेलमा जस्ट जोन एफसी नाइजेरियाले ४–२ गोल अन्तरले रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।
नाइजेरियाको ठाउँमा रोयल फुटबल क्लब कर्णाली प्रदेश र विभागीय टिम नेपाल पुलिस क्लबसँग फाइनलका लागि खेल्ने छ । विजेता हुने टिम फाइनल प्रवेश गर्ने छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरिसकेको छ ।
चौथो संस्करणमा लगातार दुई खेल जितेको कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । २०७९ मा सम्पन्न प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन)ले जितेको थियो ।
दोस्रो संस्करणको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’को उपाधि त्रिभुवन आर्मी क्लब र ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’को उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेका थिए ।
प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगर पुरस्कार प्राप्त गर्ने छन् ।