• २४ वैशाख २०८३, बिहिबार

इजरायलले गाजामा जानाजान कुपोषणको सङ्कट निम्त्याएको छ : एमएसएफ

blog

जेनेभा, वैशाख २४ गते । अन्तर्राष्ट्रिय आपतकालीन मानविय चिकित्सा सेवा (एमएसएफ)ले इजरायलले गाजामा खानालगाएतका अत्यावश्यक सहायतामा प्रतिबन्ध लगाई जानाजान सङ्कट निम्त्याएको बताएको छ । जसको कारण शिशु तथा गर्भवती र स्तनपान गराउने महिलामा नकरात्मक प्रभाव पारी जटिल कुपोषण सङ्कट सिर्जना गरेको जनाइएको छ । 

गाजामा संयुक्त राष्ट्रसङ्घको सहायताको वितरणलाई अवरोध गर्ने अमेरिका र इजरायल समर्थित निजी सङ्गठनले गत वर्ष गरेको हानि नोक्सानीको बारेमा पनि एमएसएफले प्रतिवेदनमा उल्लेख गरेको छ । एमएसएफको नामले चिनिने आपतकानिल मानविय चिकित्सा सेवाले गाजा पट्टीमा चार स्वास्थ्य सुविधामा सन् २०२४ को अन्त्यदेखि सन् २०२६ को सुरुवातसम्मको अवस्थाको विश्लेषणमा आधारित प्रतिवेदन सार्वजनिक गरेको हो ।

विश्लेषणले कुपोषित आमाबाट जन्मेका शिशुमा उच्च मृत्यु दर र गर्भपातलगाएतका समस्या देखाएको छ । इजरायलले अत्यावश्यक वस्तुको प्रवाहमा नाकाबन्दी र चिकित्सा सुविधालगायत पूर्वाधारमा आक्रमण जारी राखेका कारण यस्तो अवस्था सिर्जना भएको एमएसएफले जनाएको छ । असुरक्षा, विस्थापन, सहायतामा प्रतिबन्ध, खाना र चिकित्सा सेवामा सीमितताले मातृ शिशु र स्वास्थ्यमा विनासकारी प्रभाव पारेको उल्लेख गर्दै एमएसएप विज्ञप्तिसमेत जारी गरेको छ ।

दुई वर्षको विनाशकारी द्वन्द्वपछि गत अक्टोबरदेखि युद्धविराम भए तापनि स्थिति अत्यन्त नाजुक रहेको पनि एमएसएफले चेतावनी दिइएको छ । यसैबिच एमएसएफले इजरायली अधिकारीलाई गाजामा सहायता र आपूर्तिको निर्बाध प्रवेशलाई तुरुन्तै अनुमति दिन आह्वान गरेको छ । एमएसएफले गत जुन र जनवरीको बिचमा खान युनूस र गाजा सहरका अस्पतालमा नवजात सघन स्याहार कक्षमा उपचार गराइरहेका २०० भन्दा बढी आमा र नवजात शिशुबाट तथ्याङ्क सङ्कलन गरेको बताएको छ ।

विश्लेषणले आधाभन्दा बढी महिला गर्भावस्थाको कुनै न कुनै समयमा कुपोषणबाट प्रभावित भएको पत्ता लगाएको छ भने ती मध्ये एक चौथाइ अझै पनि कुपोषित अवस्थामा रहेको जनाइएको छ । कुपोषित आमाबाट जन्मेका ९० प्रतिशत शिशु समय अगावै जन्मेको र ८४ प्रतिशतको जन्मदै वजन कम भएको प्रतिवेदनले पत्ता लगाएको छ । 

कुपोषणबाट प्रभावित आमाबाट जन्मेका शिशुमा नवजात मृत्युदर कुपोषण बिना आमाबाट जन्मेका शिशुको तुलनामा दुई गुणा बढी भएको एमएसएफले जनाएको छ । एमएसएफले अक्टोबर २०२४ र डिसेम्बर २०२५ को बिचमा खान युनूसमा बाह्य रोगी उपचारात्मक आहार कार्यक्रममा भर्ना भएको छ महिनाभन्दा कम उमेरका ५१३ जना शिशुको तथ्याङ्कको आधारमा विश्लेषण गरेको जनाएको छ । रासस/एएफपी