जनार्जन खत्री
सर्लाही, वैशाख २४ गते । बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–९, खीला गाउँनजिक बिहीबार बस र मोटरसाइकल जुध्दा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–१२, कान्तिबजारका ३५ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएको हो । बिहीबार बिहान सीमावर्ती गाउँ सङ्ग्रामपुरबाट पूर्व–पश्चिम राजमार्गको बाँके चोकतर्फ आउँदै गरेको ग. १ ख. ९४६७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना. ४८ प. ४७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेल्मेट नलगाएका ठाकुरलाई बससँग मोटरसाइकल जुध्दा टाउकोमा गहिरो चोट लागेको थियो । मृतक ठाकुरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
प्रहरीले बस र बस धनीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।