• २४ वैशाख २०८३, बिहिबार

पाकिस्तानविरुद्ध भारतको कडा सन्देश

blog

नयाँदिल्ली, वैशाख २४ गते । भारत र पाकिस्तानबिच गत वर्ष भएको भीषण सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध भारतको अभियान अझै कठोररूपमा जारी रहने बताउनुभएको छ । 

उहाँले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गर्नुभएको छ । गत वर्ष अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको घातक आक्रमणपछि दुई आणविक शक्तिसम्पन्न छिमेकी मुलुकबिच सम्बन्ध तीव्ररूपमा बिग्रिएको थियो । उक्त घटनामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दु पर्यटक थिए । 

भारतले आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो, तर इस्लामाबादले त्यसलाई अस्वीकार गरेको थियो । त्यस घटनापछि नयाँदिल्ली र इस्लामाबादबिच कूटनीतिक तनावका साथै प्रत्यक्ष सैन्य टकरावसमेत बढेको थियो । भारतले मे ७, २०२५ मा पाकिस्तानभित्र रहेका ‘आतङ्कवादी शिविर’ माथि लक्षित सैन्य कारबाही गरेको घोषणा गरेपछि अवस्था अझ विस्फोटक बनेको थियो । 

त्यसपछि दुवै देशबिच हवाई आक्रमण, ड्रोन आक्रमण तथा सीमावर्ती क्षेत्रमा भारी मोर्टार प्रहार भएका थिए । भारतीय सेनाले सञ्चालन गरेको उक्त कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । बिहीबार सो अभियानको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री मोदीले जारी गर्नुभएको वक्तव्यमा भारत आतङ्कवादविरुद्धको सङ्घर्षबाट पछि नहट्ने बताउनुभएको हो ।

उहाँले ‘आतङ्कवादलाई परास्त गर्ने र त्यसलाई सहयोग गर्ने सम्पूर्ण इकोसिस्टम ध्वस्त पार्ने हाम्रो सङ्कल्प अझै दृढ छ’ भन्नुभयो । मोदीले पहलगाममा मारिएका निर्दोष नागरिकको स्मरण गर्दै आक्रमणकारीलाई ‘उचित जवाफ’ दिइएको उल्लेख गर्नुभयो । मोदी सरकारले ‘सिन्दूर’ शब्दलाई विशेष प्रतीकका रूपमा प्रयोग गरेको थियो । हिन्दु महिलाले विवाहपछि कपालमा लगाउने रातो रङको सिन्दूरलाई सरकारले पहलगाम आक्रमणमा श्रीमान् गुमाएका महिलाहरूको पीडासँग जोड्दै प्रतिशोध र राष्ट्रिय भावनाको प्रतीक बनाएको थियो ।

प्रधानमन्त्री मोदीले भारतीय सेनाको प्रशंसा गर्दै राष्ट्रले सैनिकको ‘साहस र वीरता’लाई सम्मान गर्ने बताउनुभयो । उहाँले देशको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो । गत वर्षको चार दिने सैन्य तनावमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिएका थिए । पाकिस्तानले त्यस समयमा भारतीय वायुसेनाका पाँच लडाकू विमान खसालेको दाबी गरेको थियो । तीमध्ये तीन वटा अत्याधुनिक फ्रान्सेली राफेल विमान रहेको इस्लामाबादको भनाइ थियो । 

भारतले भने आफ्ना विमान क्षतिग्रस्त भएकोबारे कुनै औपचारिक पुष्टि गरेको छैन । दुवै देशबिच बढ्दो सैन्य तनाव अन्ततः मे १० मा युद्धविराममा पुगेर रोकिएको थियो । उक्त युद्धविरामबारे सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ नेटवर्कमार्फत घोषणा गर्नुभएको थियो । त्यसको केही समयपछि भारत र पाकिस्तान दुवैले युद्धविरामको पुष्टि गरेका थिए ।

यद्यपि भारतले त्यसयता युद्धविराम अमेरिकाको मध्यस्थतामा नभई इस्लामाबादसँग प्रत्यक्ष संवादमार्फत भएको दाबी गर्दै आएको छ । नयादिल्लीले काश्मीर र सुरक्षासम्बन्धी विषयलाई दुई देशबिचको द्विपक्षीय मुद्दाका रूपमा मात्रै हेर्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ । एक वर्षपछि पनि भारत–पाकिस्तान सम्बन्ध सामान्य बन्न सकेको छैन । सीमापार आतङ्कवाद, काश्मीर विवाद र सैन्य अविश्वासका कारण दुवै देशबिच तनाव कायम रहेको विश्लेषकहरूको भनाइ छ । मोदीको पछिल्लो वक्तव्यले भारतले सुरक्षा र आतङ्कवादको मुद्दामा आफ्नो कठोर नीति परिवर्तन नगर्ने स्पष्ट सङ्केत दिएको मानिएको छ । रासस/एएफपी