• २४ वैशाख २०८३, बिहिबार

मध्यपूर्व सङ्कटको प्रभावबिच सेबुमा आसियान बैठक सुरु

blog

सेबु, वैशाख २४ गते । दक्षिण-पूर्व एसियाली राष्ट्रको सङ्घ (आसियान)को शिखर सम्मेलन फिलिपिन्सको सेबु सहरमा सुरु भएको छ, जहाँ क्षेत्रीय नेता मुख्यरूपमा मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न गम्भीर आर्थिक प्रभावबारे छलफल गर्न भेला भएका छन् । 

इजरायल र इरानबिचको बढ्दो सैन्य तनावले विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध ल्याएको छ, जसको प्रत्यक्ष असर तेल आपूर्ति, खाद्य मूल्य र व्यापारिक ढुवानीमा परेको छ । यसले दक्षिण-पूर्व एसिया क्षेत्रमा इन्धनको अभाव, महँगी र आर्थिक अस्थिरता बढाएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले यस सम्मेलनलाई ‘सीमित र व्यावहारिक एजेन्डा’ भएको बताउनुभयो । 

उहाँका अनुसार अहिलेको प्रमुख आवश्यकता क्षेत्रीय देशबिच आपसी सहकार्य बढाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्नु हो । तर आसियानसँग आपतकालीन अवस्थामा तुरुन्तै प्रयोग गर्न सकिने बाध्यकारी ऊर्जा सहकार्य प्रणाली नभएकाले प्रभावकारी निर्णय लिन कठिनाइ हुने देखिन्छ । यसैबिच, म्यानमारको राजनीतिक सङ्कट पनि परोक्षरूपमा छलफलमा आएको छ । सन् २०२१ मा भएको सैन्य कूपछि देश गृहयुद्धमा फसेको छ, जसका कारण म्यानमालाई आसियानका उच्चस्तरीय बैठकबाट आंशिकरूपमा अलग राखिएको छ ।

केही सदस्य राष्ट्रले म्यानमासँग संवाद र क्रमिकरूपमा सम्बन्ध सुधार गर्नुपर्ने धारणा राखिरहेका छन् भने अन्य देशले लोकतान्त्रिक सुधार बिना कुनै पनि पुनः सम्बन्ध सम्भव नहुने अडान लिएका छन् । त्यसैगरी, दक्षिण चीन सागरको विवाद पनि सम्मेलनको महत्त्वपूर्ण विषय बनेको छ । ब्रुनाइ, मलेसिया, फिलिपिन्स र भियतनामले उक्त समुद्री क्षेत्रमा आंशिक दाबी गर्दै आएका छन् भने चीनले लगभग सम्पूर्ण क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । 

यस विषयमा दुई दशकभन्दा बढी समयदेखि वार्ता चलिरहेको भए पनि अझै कुनै बाध्यकारी आचारसंहिता तयार हुन सकेको छैन, जसले समुद्री सुरक्षा र क्षेत्रीय तनावलाई जटिल बनाइरहेको छ । आसियान शिखर सम्मेलनले मध्यपूर्व युद्धको आर्थिक प्रभाव, क्षेत्रीय ऊर्जा सङ्कट, म्यानमाको राजनीतिक अवस्था र दक्षिण चीन सागरको विवादजस्ता महत्त्वपूर्ण विषयमा छलफल गरे पनि ठोस र बाध्यकारी निर्णय आउने सम्भावना कमजोर देखिएको छ । रासस/एएफपी