टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख २४ गते । गुल्मीको कालीगण्डकी गाउँपालिकाका २०५ जना नागरिकको निःशुल्क आँखा जाँच गरिएको छ । कालीगण्डकी गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रको प्राविधिक सहयोगमा दुई दिन आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा २३ जनाको निःशुल्क शल्यक्रियामार्फत सेवा प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिनुभयो । लुम्बिनी नेत्र विज्ञान तथा अनुसन्धान केन्द्रको नेत्ररोग विशेषज्ञ डा. बेबीका फुयाँलको नेतृत्वमा जिल्लाको प्राविधिक टोलीले बिरामीहरूको आँखा जाँच तथा शल्यक्रिया गरेको थियो ।
नेत्ररोग विशेषज्ञ डा. बेबीका फुयाँलले आँखा मान्छेको निकै संवेदनशील अङ्ग भएकाले समयमै उपचार गरेर ज्योति गुमाउनबाट जोगिन आग्रह गर्नुभयो । कालीगण्डकी गाउँपालिकाका प्रमुख बेदबहादुर थापाले नागरिकको स्वास्थ्यप्रति आफुहरू पूर्णरूपमा जिम्मेवार भएकाले बर्सेनि विभिन्न रचनात्मक कामहरू भइरहेको बताउनुभयो ।
उहाँले आर्थिक अभावको कारण आँखाको समस्या झेलेर घरमा नबस्न आग्रह गर्दै आफुहरूले पछिल्लो समय शिविरमार्फत धेरै जनाको आँखाको जाँच र शल्यक्रिया निःशुल्क रूपमा गर्दै आएको बताउनुभयो ।
नेत्रज्योति सङ्घ जिल्ला शाखा गुल्मीका सचिव पदमप्रसाद पाण्डेले स्थानीय तहहरूले पछिल्लो समय आँखा उपचारको क्षेत्रमा देखाएको सक्रियताले कैयन नागरिकलाई फाइदा पुगेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आफुहरूले केन्द्रमा दैनिक आँखा जाँच र मासिक रूपमा शल्यक्रिया, शाखाहरूमा दैनिक आँखा जाँच र स्थानीय तहहरू मार्फत बेलाबखतमा शिविरहरू सञ्चालन गरेर आँखा उपचारको सेवा गरिरहेको बताउनुभयो ।
जिल्लाको लगभग सबै स्थानीय तहले आँखाको जाँच र शल्यक्रिया निःशुल्क गर्ने गरेर सम्झौता गरेको र बिमामा समेत आँखा उपचार रहेकाले उपचारको पहुँचबाट कोही बञ्चित हुन नहुने बताउनुभयो ।
शिविरको समापनमा कालीगण्डकी गाउँपालिका उपप्रमुख मञ्जुकुमारी दर्लामी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले गर्नुभएको थियो ।
कालीगण्डकी गाउँपालिकाद्वारा पूर्तिघाटमा आँखा उपचार केन्द्र सञ्चालन र शल्यक्रिया शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ गुल्मीसँग सहकार्य गर्दै आएको छ ।