• २४ वैशाख २०८३, बिहिबार

विद्यार्थी नभएपछि विद्यालय समायोजन

blog

पशुपति प्रावि ‘ए’ गाउँमा समायोजन भएर प्रयोगविहिन रहेको भानुदय प्रावि गौरीनगर । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, वैशाख २४ गते । बाँकेको खजुरा गाउँपालिका कार्यालयले २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको छ । जसअन्तर्गत हालसम्म ३ वटा विद्यालय समायोजन गरिएको छ ।

खजुरा  गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले दिनुभएको जानकारी अनुसार खजुरा गाउँपालिका–३ को शान्ति प्राथमिक विद्यालय बाग्मती नगरलाई जनता माध्यमिक विद्यालय सन्तकुटीमा समायोजन गरेपछि साविक शान्ति प्राविको जग्गामा गाउँपालिकाको कार्यालय निर्माण गरिएको छ । 

सो विद्यालयको भवनमा नयाँ भवन नबन्दासम्म गाउँपालिका शिक्षा शाखा सञ्चालनमा थियो । खजुरा गाउँपालिका–२ स्थित पशुपति प्रावि ‘ए’ गाउँमा समायोजन भएको भानुदय प्राविको भवन भने प्रयोगविहिन छ । 

शिक्षा शाखा प्रमुख मल्लले भन्नुभयो, ‘एउटा कोठामा वाल विकास सञ्चालन भएपनि अधिकांश भवन प्रयोगविहिन रहेको अवस्था छ ।’ गाउँपालिकाका अनुसार शिव प्रावि नयाँ गुराँसपुर चालु शैक्षिकसत्रदेखि समायोजन गरिएको हो । यो विद्यालयको २ तल्ले चार कोठे भवन रहेको छ । यो विद्यालयलाई भर्खरैं शुक्र माविमा समायोजन गरेपछि यसको भवन पनि प्रयोगविहिन हुने देखिएको छ ।

खजुरा गाउँपालिका मात्र नभएर कम विद्यार्थी सङ्ख्या भएका विद्यालय नजिकैका अन्य विद्यालयमा समायोजनको नीति लिइएको छ । तर यसरी समायोजन गरिएका विद्यालयका भवनहरू लामो समयदेखि प्रयोगविहिन हुँदा सरकारी भवनहरू दिन प्रतिदिन जीर्ण हुन थालेका छन् । 

विद्यालय समायोजनको नीति सकारात्मक भए पनि यसरी समायोजन भएका विद्यालयको भवन प्रयोगका लागि स्थानीय बासिन्दा र वडा कार्यालयले पहल गर्नुपर्ने शिक्षकहरूको भनाइ छ ।