नवराज नेपाली
बागलुङ (गलकोट) वैशाख २४ गते । बागलुङको ६ वटा स्थानीय तहका एक लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा चरन क्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो ।
बागलुङको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, निसी खोला गाउँपालिका, तमान खोला गाउँपालिका, बडिगाड गाउँपालिका र तारा खोला गाउँपालिकाका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको हो ।
६ स्थानीय तहका १६ हजार २२६ घरपरिवारसँगै सार्वजनिक कुकुरलाई समेत खोप लगाइएको हो ।१७ हजार ३६५ गाई, २७ हजार ५२ भैँसी र आठ सय ३० वटा बङ्गुरलाई खोरेत विरुद्धको खोप लगाइएको छ ।
खोरेत रोगका कारण पशुको मुखभित्र, खुट्टा, र स्तनमा फोका आउँने र दूध उत्पादन घट्दा कृषकमा बर्सेनि हुने गरेको आर्थिक क्षतिको रोकथाम गर्दै पशुको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा दुध, मासु र प्रजनन क्षमतामा समेत वृद्धि गराउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले बताउनुभयो ।
खोप लगाउँदा पशुको शरीरमा एन्टिबडी बन्ने भएकाले खोरेत भाइरस विरुद्ध प्रतिरोध हुने, विभिन्न जोखिम कम गर्ने, किसानलाई नोक्सानीबाट बचाउने र उत्पादनमा समेत वृद्धि हुने उहाँको भनाइ छ ।
त्यसैगरी ६९ हजार ४८४ बाख्रा र १३ हजार ३७९ भेडालाई पिपिआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रविधि अधिकृत केशव पौडेलले जानकारी दिनुभयो ।
भेडाबाख्रामा हुनसक्ने घातक रोगबाट बचाएर पशुपालनमा हुन सक्ने आर्थिक नोक्सानीलाई रोक्नका लागि ढोरपाटन र निसी खोलाका चरनक्षेत्रमै पुगेर खोप लगाइएको पौडेलको भनाइ छ ।
खोप लगाइएका भेडाबाख्रामा उच्च ज्वरो, आँखा र नाकबाट पानी झर्ने, मुखभित्र घाउ र दादुरा, खाना खान नसक्ने, पखाला र निमोनिया तथा विभिन्न कारणले हुनसक्ने मृत्युको दरसमेत घट्ने उहाँको भनाइ छ ।
पश्चिम बागलुङका घरपालुवा र सामुदायिक गरेर सात हजार ७७४ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।
रेबिज विरुद्धको खोप कुकुरलाई लगाएपनि यसबाट मानिसलाई समेत घातक रोगबाट बचाउने उद्देश्यका साथ खोप लगाइँदै आएको छ । कुकुरलाई लगाइने यो खोपले कुकुरको रेबिज रोक्ने, मानिस र समाजलाई समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
त्यसैगरी ८९७ बङ्गुरलाई अत्यन्तै सङ्क्रामक रोग नियन्त्रणका लागि लगाइने सिएसएफ खोप लगाइएको छ ।२४ जना महिला र २५ जना पुरुष गरी ४९ जना खोपकर्ता खटाएर कृषकका घरदैलोमै पुगेर खोप अभियान सम्पन्न गरिएको डाक्टर सापकोटाले बताउनुभयो ।
पहिलो चरणको अभियानमा पश्चिम बागलुङका ६ स्थानीय तहमा खोप अभियान सम्पन्न गरेर दोस्रो चरणको अभियान बागलुङ नगरपालिका, काठे खोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा वैशाख १ गतेदेखि सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रविधि अधिकृत केशव पौडेलले जानकारी दिनुभयो ।
वैशाख मसान्तसम्ममा अभियान सञ्चालन भइरहेका बाँकी ४ वटा स्थानीय तहका पनि सबै पशुमा खोप पुर्याएर सक्ने लक्ष्य रहेको पौडेलको भनाइ छ । जसका लागि ३५ प्राविधिकहरू वडा–वडामा खटिएका छन् ।
अघिल्ला वर्षहरूमा खोप अभियान लिएर प्राविधिकहरू गाउँगाउँ पुग्दा खोप लगाउँदा आफ्ना गाईबस्तु बिरामी पर्न सक्छन्, दूध सुक्छ भनेर पन्छिने कृषकहरू यसपटक भने प्राविधिकलाई स्वागतै गरेर खोप लगाउन अनुरोध गर्ने गरेका छन्।
खोप नलगाउँदा भेडाबाख्रा र विशेष पशुमा देखिएको लम्पी स्किनको समस्या पछि भने पशुलाई रोगबाट बचाउन खोप लगाउनै पर्ने रहेछ भन्ने सोचाइ आएको बागलुङ नगरपालिका–३ की कृषक धना रानाले बताउनुभयो ।