जकार्ता, वैशाख २४ गते । इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । अधिकांश पीडित सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य निकै कठिन बनेको अधिकारीहरूले बताएका छन् ।
दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास रिजन्सी क्षेत्रमा दिउँसो भएको उक्त दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्णरूपमा जलेर नष्ट भएको थियो । स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारी मुगोनोका अनुसार बस दक्षिण सुमात्राको लुबुक्लिङ्गाउ सहरबाट जाम्बीतर्फ गइरहेको थियो । प्रारम्भिक अनुसन्धानले बसमा ठक्करअघि प्राविधिक समस्या देखिएको सङ्केत गरेको छ ।
मुगोनोका अनुसार बसबाट अचानक स्पार्क निस्किएको हुन सक्ने अनुमान गरिएको छ । सम्भावित ठुलो दुर्घटनाबाट बच्न चालकले बसलाई सडकको दायाँपट्टि मोड्ने प्रयास गरेका थिए । तर सोही समयमा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको तेल ट्याङ्कर ट्रकसँग बस सीधै ठोक्किन पुगेको थियो ।
ठक्कर अत्यन्त शक्तिशाली भएकाले केही क्षणमै दुवै सवारीमा आगो फैलिएको थियो । आगलागीले बस र ट्याङ्करलाई पूर्णरूपमा ढाकेको थियो । धेरै यात्रु बाहिर निस्किन नपाउँदै आगोले घेरेपछि उनीहरू सवारीभित्रै फसेका थिए ।
दुर्घटनामा बस चालकसहित १३ जना यात्रु तथा ट्याङ्करका चालक र सहचालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकांश शव जलेको अवस्थामा भेटिएकाले पहिचान गर्नसमेत कठिनाइ भएको जनाइएको छ ।
दुर्घटनाबाट बाँचेका चार जना यात्रुलाई तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । घाइतेमध्ये तीन जनाको शरीर गम्भीर रूपमा जलेको छ भने एक जनालाई सामान्य चोट लागेको बताइएको छ ।
अधिकारीहरूका अनुसार बसको यात्रु सूची अझै पूर्ण रूपमा फेला परेको छैन । त्यसैले वास्तविक यात्रु सङ्ख्या र मृतकको अन्तिम विवरण सङ्कलन भइरहेको छ । घटनास्थलमा उद्धार टोली, विपद् व्यवस्थापन अधिकारी तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो । आगो नियन्त्रणमा लिन दमकलकर्मीहरूले लामो समय सङ्घर्ष गर्नुपरेको थियो ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले सार्वजनिक गरेका तस्वीर र भिडियोमा राजमार्गभरि बाक्लो कालो धुवाँ फैलिएको तथा आगोको ठूलो मुस्लो उठिरहेको देखिन्छ । बस र ट्याङ्करका जलेका भग्नावशेष सडकभरि छरिएका थिए भने मोडिएको फलाम र जलेका संरचनाले दुर्घटनाको भयावहता झल्काएको थियो ।
उद्धारकर्ताहरूले सवारीभित्र फसेका पीडितलाई निकाल्ने प्रयास गरे पनि आगो र क्षतिग्रस्त संरचनाका कारण काम जटिल बनेको थियो । दुर्घटनापछि ट्रान्स–सुमात्रा राजमार्गमा लामो समय यातायात अवरुद्ध भएको थियो ।
इन्डोनेसियामा कमजोर सडक पूर्वाधार, अपर्याप्त सुरक्षा मापदण्ड र तीव्र गतिका कारण सडक दुर्घटना बारम्बार हुने गरेका छन् । गत साता मात्रै राजधानी जकार्ताबाहिर एउटा रेलले ट्र्याकबिच अड्किएको ट्याक्सीमा ठोक्किएपछि रोकिएको यात्रुवाहक रेललाई अर्को लामो दूरीको रेलले ठक्कर दिएको थियो । त्यस घटनामा महिलाका लागि छुट्याइएको डब्बामा रहेका कम्तीमा १५ जना महिलाको मृत्यु भएको थियो । रासस, एपी