• २७ मङ्सिर २०८२, शनिबार

सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २७ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित विविध घटनाक्रम र त्यसले मुलुकको समग्र सुरक्षामा पर्न सक्ने सम्भावित असर न्यूनीकरणका लागि नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाकाको सुरक्षा थप कडा बनाइएको छ ।

गत भदौ २३–२४ गते नेपालमा भएको नवयुवा (जेनजी) आन्दोलनले सिर्जना गरेको अवस्था, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन, आन्तरिक तथा बाह्य सुरक्षामा देखिएका बदलाव र सीमापार अपराधलाई ध्यानमा राखी सशस्त्र प्रहरीले ‘बोर्डर आउट पोस्ट’ (बिओपी) मार्फत नेपाल–भारत र चीनसँगका अन्तर्राष्ट्रिय सीमानाकाको सुरक्षा थप मजबुत बनाउँदै लगेको हो । शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता मनीष थापाले समग्र सुरक्षा अवस्थालाई ध्यानमा राखी सुरक्षा सतर्कता बढाइएको बताउनुभयो । 

सीमानाकाबाट हुन सक्ने अवाञ्छित गतिविधि, तस्करी, सीमापार अपराधसँगै आपराधिक गतिविधि निगरानी र नियन्त्रणका लागि बिओपीहरूमा पहिलो पटक सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) नै तैनाथ गरिएको बताउँदै थापाले भन्नुभयो, “सीमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी थप मजबुत बनाउने उद्देश्यले उच्च अधिकृतको तैनाथीसँगै निगरानी बढाएका छौँ ।” थापाका अनुसार पछिल्लो पाँच महिनामा बिओपीमार्फत नेपाल–भारत सिमानामा १२ हजार ८६५ वटा सुरक्षा गस्ती गरिएको छ । यही अवधिमा सशस्त्रको बिओपी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा एकैसाथ झन्डै तीन हजार पटक संयुक्त सुरक्षा गस्ती गरेका छन् ।

गत आव २०८१/८२ मा दुवैतर्फबाट छ हजार ७९८ संयुक्त गस्ती र सशस्त्र एकल ३१ हजार ८१२ गस्ती गरेको थियो । आव २०८०/८१ मा पाँच हजार ८५१ संयुक्त सीमा र सशस्त्रले मात्र ३१ हजार ५२३ पटक एकल सीमा गस्ती गरेको थियो । 

नेपाल–भारत सिमानाको सुरक्षार्थ तैनाथ २४९ बिओपी र नेपाल–चीन सीमा सुरक्षार्थ ११ वटा गरी २६० वटा बिओपीको कमान्ड यतिबेला सशस्त्रका उच्च अधिकारीबाटै गरिएको छ । यसअघि बिओपी सुरक्षाको कमान्ड सशस्त्र प्रहरी नायब निरीक्षक (डिएसपी) वा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ‘एक पल्टन’ (४० जनाको सुरक्षा दस्ता) खटाउने गरिएको थियो । ती बिओपीहरूको कमान्ड यतिबेला सशस्त्रका एससपीमार्फत गरिएको छ ।

ती अधिकारीहरूले अब बिओपीमै बसी समग्र वस्तुस्थिति अध्ययनसहितको दैनिक तथा साप्ताहिक प्रतिवेदन सशस्त्र मुख्यालयमा बुझाउने छन् । सशस्त्रले पहिलो पटक उच्च अधिकारीलाई सीमा सुरक्षाको कमान्डमा खटाएपछि त्यसको प्रभावकारीता हेरी थप कार्ययोजना तयार गर्ने जनाएको छ । 

सीमावासीसँग सशस्त्र प्रहरी 

सीमा सुरक्षा र अन्तरसीमा अपराध नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले सुरु गरेको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम (वाडप) उच्च प्राथमिकतामा राखेको छ ।

सीमाक्षेत्र विकास कार्यक्रम अन्तर्गत बाटोघाटो सरसफाइ तथा स्तरोन्नति, विकास निर्माण, विविध जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, सिप तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसै गरी सशस्त्रले सीमाक्षेत्रका ६३८ स्थानका धार्मिक स्थल, विद्यालय, खेलमैदान, बाटोघाटो, कुलो, पैनी सरसफाइ तथा ६० स्थानमा यात्रु प्रतीक्षालय, खानेपानी धारा, ट्याङ्की, सार्वजनिक शौचालय निर्माण तथा मर्मतसम्भार गरेको छ । उत्तरीतर्फको सीमा सुरक्षार्थ बिओपीमा तैनाथ हुने ४० जना सशस्त्रलाई चिनियाँ भाषा प्रशिक्षण प्रदान गरिएको छ ।

सीमा सुरक्षालाई थप मजबुत बनाउने सशस्त्र प्रहरीले भारतीय एसएसबीसँग पछिल्लो पाँच महिनामा २२५ वटा उच्चस्तरीय संयुक्त समन्वयात्मक बैठक सम्पन्न गरेको छ । बिओपीमार्फत सशस्त्रले लागुऔषध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार नियन्त्रणलाई पनि थप प्रभावकारी बनाउँदै लगेको देखिएको छ ।