• १३ चैत २०८२, शुक्रबार

रास्वपा संसदीय दलको नेतामा शाह

प्रधानमन्त्रीको शपथ आज

blog

काठमाडौँ, चैत १३ गते । प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ । 

रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो । 

सोही सहमति अनुसार केन्द्रीय समितिको बैठकले संसदीय दलसम्बन्धी विधानमा रहेको बाधा अड्काउ (धारा ८०) फुकाउँदै केन्द्रीय समितिलाई प्राप्त अधिकार प्रयोग गरी संसदीय दलको विधान परिमार्जन गरेको हो । रास्वपा सभापति रवि लामिछानेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले सर्वसहमतिसहित अनुमोदन गरेको हो । शाह संसदीय दलको नेता चयन भएसँगै सभापति लामिछानेले आगामी प्रधानमन्त्रीका रूपमा शाहलाई शुभकामना व्यक्त गर्नुभयो । 

सभापति लामिछानेले भन्नुभयो, “संसदीय दलको तर्फबाट वरिष्ठ नेता शाहलाई हार्दिक बधाइका साथै सफलताको शुभकामना दिन चाहन्छु ।” लामिछानेको उक्त भनाइपछि संसदीय दलको बैठकले सामूहिक रूपमा घन्टी बजाएर अनुमोदन गरेको थियो । वरिष्ठ नेता शाह संसदीय दलको नेता चयन भएसँगै प्रधानमन्त्रीमा उहाँको  शपथग्रहणको तयारी भइरहेको छ ।

शुक्रबार अपराह्न १२:३४ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीको शपथग्रहण गराउनुहुने गरी राष्ट्रपति कार्यालयमा तयारी गरिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीपरिषद् विस्तार गर्नेबारे सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद (डिपी) अर्याल र डा. स्वर्णिम वाग्लेबिच निरन्तर छलफल र परामर्श भइरहेको छ । आगामी सरकार सुशासन र मितव्ययिता कायम गर्ने गरी सानो आकार (१५ देखि १८) जनाको गठन गर्ने गरी तयारी भइरहेको जनाइएको  छ । 

शाहले प्रधानमन्त्रीमा शपथ लिँदा वैदिक–सनातन परम्परा झल्किने गरी १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुले मङ्गल पाठ गर्ने र सात वटा शङ्खबाट शङ्खनाद गरिने तयारी गरिएको छ । आगामी सरकारको प्रमुख ध्यान मुलुकमा सुशासन कायम गर्ने रहेको जनाउँदै रास्वपाले मन्त्री चयन गर्दा विषय विज्ञता र अनुभवका आधारमा गर्ने जनाएको छ । सरकार गठनसँगै प्रतिनिधि सभाको सभामुख, प्रमुख सचेतकलगायत चयन गर्नेबारे पनि छलफल भइरहेको छ ।