• २५ चैत २०८२, बुधबार

पूर्वप्रधानमन्त्री देउवा र आरजुलाई पक्राउ गर्न अनुमति, इन्टरपोलमार्फत प्रक्रिया अघि बढाइँदै

blog

नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवा। फाइल तस्बिर

मित्र भण्डारी

काठमाडौँ, चैत २५ गते । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले उहाँहरूलाई पक्राउ गर्न अनुमति दिएको हो ।

गत भदौ २३/२४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँको बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी र तोडफोड भएको थियो । सोही क्रममा जलेको अवस्थामा फेला परेका विदेशी मुद्रा र नेपाली रुपियाँको स्रोतबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको थियो । विभागले सङ्कलन गरेका नमुना र प्रारम्भिक अनुसन्धानका आधारमा अदालतबाट पक्राउ अनुमति लिइएको उच्च स्रोतले जनाएको छ ।

देउवा दम्पती हाल मुलुक बाहिर रहेकाले उहाँहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत प्रक्रिया अघि बढाउने तयारी गरेको छ । गृह मन्त्रालय स्रोतले पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै आवश्यक कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार भइसकेको जनाएको छ । अभियुक्त रहेको देश पहिचान भएमा इन्टरपोलको 'रेड कर्नर नोटिस' वा 'डिफ्युजन नोटिस' मार्फत झिकाउने कानुनी प्रावधान छ ।

भदौ २४ को आन्दोलनका क्रममा देउवा दम्पती घाइते हुनुभएको थियो । सैनिक अस्पताल छाउनीमा उपचारपछि थप उपचारका लागि उहाँहरू सिङ्गापुर जानुभएको थियो । फागुन दोस्रो साता पुनः उपचारकै लागि भनी सिङ्गापुर जानुभएका देउवा दम्पती त्यसयता स्वदेश फर्किनुभएको छैन । हालै सार्वजनिक भएको एक भिडियोमा उहाँहरू हङकङमा देखिएकाले सोही आधारमा पक्राउको प्रक्रिया अघि बढाइने बताइएको छ ।

यसैबीच, सोही आन्दोलनका क्रममा पूर्वमन्त्री दीपक खड्काको घरबाट बरामद भएको नगदका विषयमा पनि अनुसन्धान भइरहेको छ । विभागले खड्कालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा बरामद भएका रकमको स्रोतबारे गम्भीर अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।