रुपन्देही, चैत २५ गते । नेपाली सेनाको जमदारबाट अवकाश प्राप्त कपिलवस्तुका ७८ वर्षीय खड्गप्रसाद ज्ञवाली पूर्वसहयोद्धासँग गफिँदै सैनिक कल्याणकारी कोषमार्फत प्राप्त सुविधा बढोत्तरी हुने अभिलाषा व्यक्त गर्नुहुन्छ ।
मध्यपश्चिम पृतना मुख्यालयले बुटवलमा आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलनमा सहभागी ज्ञवाली भन्नुहुन्छ, “अब त उमेर पनि ढल्किँदै गयो, स्वास्थ्य सेवालगायतका कल्याणकारी सुविधा घरदैलोमै प्राप्त भइदिए जीवनयापन सहज हुन्थ्यो होला ।”
कोषमार्फत प्राप्त सुविधा असाध्यै मन परेको तर सम्मेलन सधैँ एकै किसिम नभई परिमार्जन भएको र बुटवलमा रहेको फिल्ड अस्पतालको स्तर वृद्धिका लागि सैनिक मुख्यालयले पहल गरिदेओस् भन्ने अपेक्षा ज्ञवालीको छ । स्वरोजगार व्यवसाय गर्दै आउनुभएका बुटवल तामनगरका पूर्वसैनिक मोहन पुरी सहज स्वास्थ्य सुविधा स्थानीय तहमा भइदिए अवकाश प्राप्त सैनिकलाई ठुलो राहत मिल्ने बताउनुहुन्छ । पुरी भन्नुहुन्छ, “पेन्सनले मात्र आर्थिक व्यवस्थापन सम्भव हुँदैन, केही व्यवसाय गर्नु नै प¥यो । परिवारको कोही बिरामी प¥यो भने काठमाडौँ जानु पर्छ । यताको व्यवसाय जुनसुकै बेला चौपट हुन सक्छ ।”
रुपन्देहीमा रहेको नेपाली सेनाका फिल्ड अस्पतालमा अपरेसनलगायत सुविधा भइदिए काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य हुने, अन्य अस्पतालसँगको समन्वयमा उपचारको व्यवस्था भइदिए धेरै सहज हुने पुरीको आग्रह छ । पूर्वसहसेनानी देवबहादुर थापा भूपू सैनिक सम्मेलनले अवकाश प्राप्त र बहलवाला सैनिकको पुनर्मिलन अत्यन्तै उपयोगी रहेको र अवकाशपछि पनि सेनाले आफूहरूलाई सम्झिरहेकामा गौरव महसुस भएको बताउनुहुन्छ ।
थापा भन्नुहुन्छ, “अवकाशपछि पनि सङ्गठनले हामीलाई सम्झिरहेको छ । हाम्रोबारेमा सोचिरहेको छ, यो खुसीको कुरा हो । वृद्ध अवस्थामा सबैभन्दा बढी स्वास्थ्य सेवा आवश्यक हुने रहेछ । यसतर्फ थप ध्यान पुगोस् भन्ने अपेक्षा छ ।” उहाँले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित प्रदेश स्तरका अस्पतालमा सबै रोगको उपचार हुने व्यवस्था भइदिए समयको बचत र आर्थिक भार धेरै कम हुने बताउनुहुन्छ ।
कपिलवस्तु गोरुसिङ्गेकी बालिका बुढाथोकी आश्रित महिलालाई नेपाली सेनाले कल्याणकारी कोषमार्फत उपलब्ध सेवासुविधाले जीवनयापन सहज भएको बताउनुहुन्छ । बुढाथोकी भन्नुहुन्छ, “एकल महिलाको हकमा आधा पेन्सन दिने व्यवस्था परिमार्जन होस् र कम उमेरका केही गर्न सक्नेलाई थप क्षमता वृद्धिका कार्यक्रम सञ्चालन भइदिए हुन्थ्यो ।”
उहाँले स्थानीय सैनिक अस्पतालमा भिडियो एक्सरे, थाइराइडलगायतको चेकजाँच र उपचारको व्यवस्था मिलाइदिन सङ्गठनको ध्यानाकर्षण गर्नुभयो । वृद्धा सैनिक परिवार नवलपरासी बर्दघाटकी नन्दकली कुँवर, नवलपासीका दिलबहादुर रायमाझी, रुपन्देहीका मनबहादुर तामाङ र रुपन्देहीका पूर्वसेनानी टोपबहादुर खत्री पुनर्मिलन र भेटघाटले अपनत्व बढेको बताउनुभयो ।अवकाश प्राप्त सैनिकसँग पुनर्मिलन र प्रत्यक्ष भेटघाट गरी अनुभव तथा सुखदुःख साटासाट गर्ने उद्देश्यले सुरु भएको सैनिक सम्मेलनमा उपस्थित भूपू सैनिकका यी केही प्रतिनिधि भनाइ हुन् ।
‘प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने नाराका साथ सेनाले मध्यपृतना मुख्यालयमा उपस्थित अधिकांशको समान सहज स्वास्थ्य सुविधा हो भन्ने रहेको छ ।
प्रधान सेनापति र भूपू सैनिकबिच पुनर्मिलन गर्ने उद्देश्यले २०७० सालदेखि सुरु भएको सम्मेलनमा प्रधान सेनापति अशोकराज सिग्देलले उपस्थित व्यक्तिका सुझाव तथा गुनासो सुन्नुभएको थियो । सो अवसरमा उहाँले सबै सैनिक परिवारलाई एउटै छाताभित्र ल्याई सैनिक कल्याणकारी कार्यक्रम हरेक स्थानीय तह र वडासम्म पु¥याउने बताउनुभयो । साथै उहाँले कल्याणकारी कार्यक्रमलाई दिगो र पारदर्शी बनाई स्वाथ्य, शिक्षा, सिप तथा स्वरोजगारमूलक कार्यक्रमलाई अभिवृद्धि गर्न ‘बहुजन हिताय, बहुजन सुखाय’ को मर्मलाई मनन गरी परिणाममुखी र आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
सो अवसरमा सैनिक कल्याणकारी कोष निर्देशनालयका कार्यकारी अधिकृत हिरालाल जोशीले सामूहिक भावनालाई अभिवृद्धि गरी कल्याणकारी कार्यक्रमलाई स्थानीय तहसम्म पु¥याउने गरी गृहकार्य भइरहेको बताउनुभयो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने मान्यताका साथ यस वर्ष मध्यपश्चिम पृतना, पश्चिम पृतना र मध्यपूर्वी पृतना अन्तर्गतका ३४ जिल्लाका झन्डै ९० हजार अवकाश प्राप्त सैनिकबिच पुनर्मिलन गरिने बताउनुभयो ।