काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ परिचालन हुने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भएको छ ।
गृह मन्त्रालयका अनुसार निर्वाचनमा खटिने सुरक्षा टोली, निर्वाचन अधिकृतसहितको निर्वाचन टोली तोकिएको मतदान केन्द्रमा पुगी मतदानका लागि आवश्यक तयारी सुरु गरिसकेको छ ।मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा र व्यवस्थापनको सम्पूर्ण काम सुरु भइसकेको बताउनुभयो ।
काफ्लेले भन्नुभयो, “हिमाली जिल्लालगायत सबै मतदान केन्द्रमा एकीकृत सुरक्षा टोली पुगेर तोकिएको जिम्मेवारी समालिसकेको छ साथै मतपत्र र निर्वाचन सामग्रीसहित निर्वाचन टोली पनि सबै मतदान केन्द्रमा पुगी आफ्नो जिम्मेवारी समालिसकेका छन् ।”
काफ्लेका अनुसार मङ्गलबार सबै निर्वाचन केन्द्रमा सुरक्षा संयन्त्र, निर्वाचन टोली, विभिन्न राजनीतिक दल, निर्वाचन पर्यवेक्षणलगायत सरोकारवालाको संयुक्त सर्वदलीय बैठकसमेत सम्पन्न भएको छ । सर्वदलीय बैठकले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न गर्न आवश्यक समझदारी गर्ने छ ।
निर्वाचन केन्द्र पुगेको एकीकृत सुरक्षा संयन्त्रले विभिन्न नाका र रणनीतिक स्थानमा अस्थायी पोस्ट खडा गरी चेकिङ, गस्ती सुरु गरेको छ । यसै गरी मतदान केन्द्रमा तारबार र डोरी लगाउने, सूचना पाटी टाँस गर्ने काम सुरु भइसकेको छ । अधिकांश हिमाली जिल्लामा सडक सुचारु गरी मतपेटिका, मतपत्रलगायत निर्वाचन सामग्री पु¥याइएको छ ।
निर्वाचन सुरक्षा कार्ययोजना अनुसार सेना, प्रहरी र सशस्त्र प्रहरीको परिचालन र जिम्मेवारी तोकिएको छ । गृह मन्त्रालयले हिमालदेखि तराईसम्मको भौगोलिक अवस्था, मौसमी प्रभाव, सम्भावित सुरक्षा अवस्था र चुनौतीसहित अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरी आवश्यक पर्ने थप सुरक्षा टोलीसमेत खटाइसकेको छ ।
निर्वाचन सुरक्षा प्रभावकारी बनाउन परम्परागत सुरक्षा चुनौतीदेखि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको समग्र अवस्था, आन्दोलनका क्रममा सुरक्षाकर्मीका लुटिएका हतियार, पोसाक, सञ्चार उपकरणलगायतका सुरक्षा सामग्रीको दुरुपयोग हुन नदिन र कारागारबाट फरार रहेका कैदीसमेतलाई सूक्ष्म निगरानीमा राखिएको छ ।
एकीकृत सुरक्षा संयन्त्रले निर्वाचनविरोधी गतिविधि गर्न खोज्नेलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही सुरु गरिसकेको छ । साथै तत्काल उत्पन्न हुन सक्ने चुनौती र त्यसको सामना गर्ने गरी विशेष रणनीति तयार गरिएको छ ।
एकीकृत सुरक्षा टोलीमार्फत जिल्ला, प्रदेश, केन्द्रमा सुरक्षा सेल गठन गरी सूचना सङ्कलन, समन्वय र सुझाव सङ्कलन भइसकेको छ । चार वटै सुरक्षा निकायको समन्वयमा संयुक्त र छुट्टाछुट्टै कमान्ड सेन्टरसमेत स्थापना गरी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षा प्रभावकारिताका लागि गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका उच्च अधिकारीसहितको निरन्तर बैठक र छलफल हुँदै आएको छ । निर्वाचनको अवधिभर मौसम पनि प्रतिकूल नहुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले निर्वाचनमा कुनै प्रतिकूलता नआउने गरी सम्पूर्ण पूर्वतयारी भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
आचारसंहिताविपरीत काम गरे कारबाही
यसैबिच गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्देशिका जारी गर्दै निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरे कारबाही हुने प्रस्ट पारेको छ । मन्त्रालयको निर्देशिकामा निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट, हस्तक्षेप गर्न वा गराउन नहुने प्रस्ट पारेको हो । मन्त्रालयले यस्तो कार्य गर्ने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ ।
निर्देशिकामा कसैले पनि मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न नहुने र यस्तो कार्य गर्ने व्यक्तिलाई पच्चिस हजार रुपियाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने प्रस्ट पारेको छ । मन्त्रालयले मतपत्रको दुरुपयोग गरे मतपत्र दुरुपयोग गर्ने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ । निर्देशिकामा भनिएको छ, “गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने छ ।”
मन्त्रालयले मतदानको अधिकारबिना मतदान गर्न नहुने प्रस्ट पार्दै मतदानको अधिकारबिना मतदानको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले २५ हजार रुपियाँसम्म जरिबाना गर्न सक्ने जनाएको छ ।