काठमाडौँ, फागुन १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेलले मङ्गलबार मनकामना मन्दिरको दर्शनपछि राखेको तस्बिरमा ‘सहकारी ठगीको रकम फिर्ता गर्ने बुद्धि मनकामना माताले दिऊन्’ । ‘किर्ते हस्ताक्षर गरेर गरिब जनता ठगेको पाप नलागोस्’ । ‘जय सहकारी’ जस्ता प्रतिक्रियाको ओइरो आयो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको चुनावी कार्यक्रमबाट सार्वजनिक गर्नुभएको तस्बिरमा प्रतिक्रिया आयो, ‘बाख्रोले पनि यसपालि घन्टी बजाउने भयो’ । ‘प्रमाण नभएको खाली पानाको भेट किताबसँग’ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा व्यक्त प्रतिक्रिया यति अश्लील छन् कि यहाँ उल्लेख गर्न सक्नेखालका छैनन् । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिरमा ‘गाइखाने’, ‘हत्यारा’ जस्ता आपत्तिजनक प्रतिक्रिया यत्रतत्र देखिन्छन् । यी केही प्रतिनिधि घटना मात्र हुन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा बढ्दै गर्दा कार्यकर्तामा एक–अर्काप्रति घृणा, आक्षेप र अश्लील गालीको वर्षा तीव्र रूपमा बढेको छ ।
प्रहरीको आन्तरिक विश्लेषणमा चुनावको मिति नजिकिँदै गर्दा यस्ता घृणा, द्वेष, भ्रम फैलाउने सन्देश बढ्न सक्ने आकलन गरी सोही अनुसारको तयारी अपनाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सामाजिक सञ्जाल नियमन, अनुगमन र कारबाहीका लागि केन्द्रदेखि जिल्ला तहसम्म प्राविधिक प्रहरीको विशेष टोली परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको विशेष युनिटबाट अनुगमन भइरहेको छ भने प्रदेश र जिल्ला तहमा विज्ञ प्रहरी टोली नै परिचालन गरिएको बताउँदै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो, “यस्तो गतिविधिमा संलग्नलाई पहिला सम्झाउने, हटाउन लगाउने र साइबर कानुनै उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही गर्ने गरी विभिन्न टोली परिचालन गरिएको छ ।”
साइबर अपराधमा पीडितहरू आवेग र उत्तेजना आक्षेपका सिकार भइरहेका छन् । कतिपय व्यक्तिका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने जस्ता प्रवृत्ति बढ्दो छ । कतिपय नक्कली अकाउन्ट बनाई अन्य व्यक्तिको तस्बिर प्रयोग गरी एक–अर्काविरुद्ध गाली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति पनि बढेको छ ।
यस्ता अपराध हुन नदिन नेपाल प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानुनी दायरामा ल्याउने र साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिने अभियान चलाएको छ । सामाजिक सञ्जाल दुरुपयोग गरी चरित्रहत्या गर्ने, ठगी गर्ने, दुव्र्यवहार गर्ने, पीडितको तस्बिरमा अश्लीलता जोडी दुःख दिने, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पु¥याई डाटा नष्ट गरी हानिनोक्सानी पु¥याउने, पीडितको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण युट्युब च्यानलमार्फत प्रसारण गर्ने जस्ता साइबर अपराधका घटना एकपछि अर्को गरी बढ्न थालेका छन् । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा साइबर अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही हुने गरेको छ ।