• २ वैशाख २०८३, बुधबार

बढ्यो घर फिर्ती उद्धार

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २ गते । पश्चिम एसियाका विभिन्न मुलुकबाट फर्कन चाहने नेपाली नागरिक सरकारको समन्वयमा उद्धार भएर स्वदेश फर्कने क्रम बढेको छ । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा युद्धप्रभावित पश्चिम एसियाका विभिन्न मुलुकमा अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण प्रभावित बनेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन थालिएको हो । उहाँको विशेष आग्रहमा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्ससहितका उडानमार्फत नेपाली नागरिक स्वदेश फर्कने क्रम बढेको हो । 

परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका विभिन्न मुलुकको अवस्थिति मूल्याङ्कन गर्दै कूटनीतिक पहल र विशेष उडानको माध्यमबाट नेपालीलाई सुरक्षित रूपमा फिर्ता ल्याइरहेको जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार चैत १९ गतेदेखियता हालसम्म एक हजार ५८ जना नेपाली पश्चिम एसियाका श्रम गन्तव्य मुलुकबाट फर्किसक्नुभएको छ । जसमध्ये कुवेत एयरका  विमानले आफैँ ल्याइदिएको २५१ जना र नेपाल एयरलाइन्सबाट ७०९ जना स्वदेश फर्कनुभएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियाका कुनै पनि मुलुकमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई सम्पर्कमा आउनासाथ उद्धार प्रक्रिया अघि बढाई स्वदेश फर्काउन लागिपरेको प्रस्ट पार्नुभएको छ । मन्त्रालयले आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत नेपाली नागरिक को, कहाँ, कसरी र के गरी बसिरहेका छन् भन्नेबारेमा अध्ययन गरिरहेको छ । त्यस्तै कन्सुलर सेवा विभागमा अनलाइन पोर्टल नै सञ्चालन गरेर विश्वभरका नेपाली नागरिकलाई त्यसमा आबद्ध गराउँदै उनीहरूको लगत सङ्कलन जारी राखेको छ ।