दिव्य आनन्दको रङ्ग, दिव्य–कान्ति–तरङ्ग छ ।
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ।।
– लेखनाथ पौड्याल
असल कर्म गरेपछि फल पाइन्छ । कर्म नगर्ने, कुरा काट्ने र अरूको निन्दा गर्ने प्रवृत्ति सबैभन्दा खराब हो । यस्तो अभ्यासले व्यक्ति, परिवार, समाज र राष्ट्र कसैको पनि हित गर्दैन । देशवासी सबैले हातेमालो गरी सकारात्मक सोच बनाएर सुकर्म गर्ने हो भने असम्भव केही छैन । देशलाई शान्त र समृद्ध बनाउने मन्त्र भनेकै सुकर्म हो । कर्म नगरी फलको आशा गर्नु मूर्खता हो । मुलुकको महत्वपूर्ण लामो समय भाषण, आश्वासन, गालीगलौज र अरूको आलोचनामै बित्यो । राजनीतिक नेतृत्वले सत्ताबाहेक अरू देखेन । कर्मशील ठुलो जनशक्ति बाहिरियो । भ्रष्टाचार, अनियमितता, कुशासन र कुनियतको चक्रमा देश फस्यो । राजनीतिको गलत व्याख्या र गलत प्रयोग भयो । सधैँको अस्थिरताबिच सत्तास्वार्थको खेल भयो । बिचौलियाको रजगज चल्यो । न्याय महँगो भयो । सर्वत्र असन्तोष, असन्तुष्टि र आक्रोश बढ्यो । सुशासन र अनुशासन भएन । आमसर्वसाधारण जनताले राहत पाएनन्, महँगीले सीमा नाघ्यो । राजनीति व्यापार र कमाउ धन्धा बन्यो । राजनीतिका नाममा गरिएका जघन्य अपराधले उन्मुक्ति पायो । यीलगायत यस्तै कुकर्ममा नवयुवा (जेनजी) पुस्ताले आफ्नो भविष्य अन्धकार बन्ने देखेर भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन ग¥यो । आन्दोलन सफल भयो । यसलाई आमनेपाली जनताले अनुमोदन गरेसँगै नयाँ पुस्ताको हातमा सत्ताको बागडोर आएको छ । गएको वर्ष भएको यो युगान्तकारी परिवर्तनले मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ वर्षले युवालाई सरकार र संसद् कुशलतापूर्वक चलाउने ऐतिहासिक अभिभारा पनि सुम्पिएको छ ।
आज नयाँ वर्ष–२०८३ सालको पहिलो दिन हो । २०८२ सालले मुलुकमा शान्ति र सुशासनको जिम्मेवारी युवापुस्तामा सुम्पेर बिदा लिएको छ । सबै नेपालीमा खुसी छाएको छ । पुरानो पात्रो फेरिएको छ । नयाँ पात्रो राखिएको छ । नयाँ वर्षको उत्साह र उमङ्गले मन रोमाञ्चित छ । गएको वर्षलाई बिदा गरी नयाँ वर्षको स्वागत गरिँदै छ । वसन्तको नयाँ पालुवाले सर्वत्र हरियाली छाउँदै छ । फूलबारीमा वसन्त फूलवासनाले यौवना फक्रिएको छ । हिमाली तथा पहाडी वनमा लालीगुराँस ढकमक्क फुलेको छ । पूर्वमनसुनी वर्षाले धुवाँ, धुलो हटाउँदा पर्यावरण प्रदूषणमुक्त बनेको छ । पटक पटकको हिमपातले हिमाल सेताम्मे छन् । वर्षाले आकाश खुलेको छ । हिउँदे बाली भित्र्याएर बर्से बालीका लागि किसान खेत र बारीमा व्यस्त छन् । सौर्य मानकका हिसाबले नयाँ वर्षको विशिष्ट महत्व छ । हिन्दु पञ्चाङ्गमा आधारित पात्रो अनुसारको विक्रम संवत् पश्चिमा जगत्ले मान्ने इस्वी संवत्भन्दा अघि नै प्रचलनमा आएको हो । पश्चिमा अङ्गे्रजी पात्रोभन्दा विव्रmम संवत् ५७ वर्ष आठ महिना १५ दिनले अघि छ । वैदिक समयाङ्कनमा आधारित यो पात्रो सूर्यको गतिसँग सम्बद्ध छ । त्यसैले पनि विसं अनुसारका महिनाका नाम नक्षत्रका नाममा आधारित छन् । राजा विक्रमादित्यले विक्रम संवत् चलाएका हुन् । नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत्को पात्रो चलनचल्तीमा ल्याएका हुन् । यो पात्रोसँगै बर्सेनि वैशाख १ गतेले नयाँ वर्षको उत्साह भर्दै आएको छ ।
गएको वर्ष नेपाल र नेपालीका निम्ति ऐतिहासिक बन्यो । बर्सौंदेखि अस्थिरतामा रुमल्लिएको नेपालको राजनीतिले उचित निकास पायो । बारम्बार सरकारको समीकरण फेरिने र प्रधानमन्त्रीले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भयो । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पुरानो सत्ता ढल्यो । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । यो सरकारले फागुन २१ गते एकै चरणमा शान्तिपूर्ण र निष्पक्ष ढङ्गले प्रतिनिधि सभाको निर्वाचन गरायो । निर्वाचनमा युवाको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ मत ल्यायो । सो पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेको छ । पुराना स्थापित पार्टी तथा तिनका नेतालाई किनारा लगाएको यो निर्वाचनसँगै मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ । प्रधानमन्त्री शाहप्रति सबैको आशा र भरोसा केन्द्रित छ । सरकारले भाषण मात्र गर्ने, काम नगर्ने संस्कार परित्याग गरेको छ । मुलुक लयमा फर्केको छ । कर्मशील हातको सर्वत्र पूजा गरिँदै छ । नयाँ वर्ष–२०८३ ले सुशासन र समृद्धिको महान् लक्ष्यमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई सुअवसर प्रदान गर्न सकोस्, हार्दिक शुभकामना !