• २ वैशाख २०८३, बुधबार

रेसुङ्गाको काखमा सीताराम मन्दिर

blog

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक रुपमा रहेको सीताराम मन्दिर। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, वैशाख २ गते।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गाको काखमा निर्माण गरिएको सीताराम मन्दिर छ। यस जिल्लाको रेसुङ्गा नगरपालिका-१३ र गुल्मीदरबार गाउँपालिका-३ को सिमानास्थित भुवाने पार्क राम्चे डाँडा एक करोड बढी लागतमा निर्माण गरिएको हो।

गुल्मीदरबार गाउँपालिका–३ का सुब्बा बस्नेतको व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरिएको हो। उहाँले निर्माण गर्नुभएको सीताराम मन्दिर धार्मिक पर्यटनका दृष्टिकोणले पनि गन्तव्य बनिरहेको छ। प्रत्येक वर्ष राम नवमीको दिनदेखि सात दिनसम्म यो मन्दिरमा राम कथा तथा राष्ट्रकल्याण महायज्ञ हुँदै आएको छ।

त्यस्तै, यहाँबाट निःशुल्क बृहत शिविर, विपन्नहरुको चौरासी, व्रतबन्ध, विवाह, रुद्रीलगायतका कर्महरु पनि निःशुल्क गरिन्छ। महायज्ञमा प्रदान गरिएको सहयोग रकमबाट केहि प्रतिशत रकम विपन्नलाई सहयोग र बाँकी रकम रेसुङ्गा क्षेत्रको धार्मिक विकासमा खर्च गरिन्छ।

मन्दिर, सडक स्तरोन्तीसहित यज्ञशाला निर्माणका काम बस्नेत आफैँले व्यक्तिगत रुपमा गर्दै आउनुभएको छ। त्रेतायुगमा रेसुङ्गामा भगवान् श्रीराम जाने बेलाका छोडेका थिए। ती पाइला सडक निर्माणको क्रममा फुटालिएको हुँदा आफूले सोही ठाउँमा मन्दिर निर्माण गरिएको हो। स्थानीयले ती पाइलाहरु रहने बेलासम्म एकदशीका दिन पुजा गर्ने गर्थे।

यस सीताराम मन्दिरको उद्घाटन २०७९ को राम नवमीको अवसरमा स्वामी विवेकानन्दले गर्नुभएको थियो। बस्नेतले आफ्नै डिजाइनमा आकर्षक मन्दिर निर्माण गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ। भुवानेडाँडालाई पर्यटकीय क्षेत्र भएकाले वनभोज स्थलका रुपमा अगाडी बढाइएको थियो।